बेनी नगरपालिकामा १० दिन निषेधाज्ञा जारी

  • २१ बैशाख २०७८, मंगलवार
  • 1301 पटक पढिएको

बेनी, २१ वैशाख । म्याग्दी सदरमुकाम बेनी बजार आसपासमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न बेनी नगरपालिका क्षेत्रमा १० दिन लकडाउन (निषेधाज्ञा) आदेश जारी भएको छ ।

सर्वदलिय बैठक र बेनी नगरपालिकाको सिफारिस र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) तथा जिल्ला सुरक्षा समितिको समिति समेतको निर्णयको आधारमा वैशाख २२ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लागू हुने गरि अत्याबश्यक बाहेकको सेवा बन्द सहितको निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी मार्फत जारी भएको निषेध आदेशमा कोरोना रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिकाका सबै वडाहरुमा लागू हुने गरि निषेधाज्ञा लागू हुने जनाईएको छ । लकडाउन अवधिमा अत्याबश्यक बाहेकको यातायात, बजार लगायतका क्षेत्र बन्द हुने भएका छन् ।सो अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, तोकिएको समयमा खाद्य बस्तु खरिद गर्ने लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ ।


उक्त समयमा तरकारी , फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्याँस, पानी, पशुन्छीका दाना लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विहान ७ देखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाईएको छ । निषेधाज्ञाको समयमा धार्मिक स्थलहरुमा पुजाआजा गर्ने, कुनैपनि जमघटन तथा भेला हुने गतिविधि सञ्चालन गर्न रोक लगाईएको छ ।


लकडाउनको अवधिमा बैँक तथा वित्तिय संस्थाहरु न्यूनमत कर्मचारी उपस्थित गराएर सञ्चालन हुने भएपनि सहकारी तथा बिमा संस्थाहरु भने बन्द हुनेछन् । यस अवधिमा सार्वजनिक विकास निर्माणका कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन गरिने र संलग्न मजदुरहरुको हकमा सम्बन्धीत आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीहरुले निश्चित ठाउँमा बस्ने प्रवन्ध मिलाउन भनिएको छ ।

सोमबार बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न वैशाख २२ गते रातीदेखि १० दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई सिफारिस गर्ने निर्णय गरेको थियो । म्याग्दीमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १०० नाघेको छ ।