काठमाडौंमा बेड नपाएपछि संक्रमितलाई बागलुङ ल्याएर उपचार

  • २१ बैशाख २०७८, मंगलवार
  • 1915 पटक पढिएको

बागलुङ २१ वैशाख । काठमाडौंकी ३१ वर्षीया महिलालाई चार दिनअघि कोभिड–१९ को संक्रमण पुष्टि भयो । उनका श्रीमानको पनि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आयो । स्वास्थ्यमा समस्या नआएकाले उनीहरु होम आइसोलेसनमै बसे । तर सोमबार एक्कासी महिलालाई सास फेर्न असहज भयो । श्वासप्रश्वासमा समस्या भएपछि उनीहरुले काठमाडौंका केही अस्पतालमा बेडका लागि सोधपुछ गरे । तर बेड नपाएपछि गृह जिल्ला बागलुङको धौलागिरि अस्पतालका देवप्रकाश घिमिरेलाई सम्पर्क गरे । देवप्रकाश र उनी मिल्ने साथी हुन् ।


‘उहाँहरुले काठमाडौंका अस्पतालमा बेड नपाएको दुखेसो गर्नुभयो । साना बच्चा पनि भएकाले काठमाडौंमा अझै समस्या पर्न सक्थ्यो,’ अस्पतालका कोभिड फोकल पर्सन घिमिरेले भने, ‘गृहजिल्ला र त्यसमा पनि धौलागिरि अस्पतालमा कोभिडका बिरामीको उपचार भइरहेकाले यतै ल्याउने सल्लाह भयो ।’ उनीहरु ५० हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्समार्फत धौलागिरि अस्पताल आइपुगेका छन् । ढोरपाटन नगरपालिका–३ का दम्पतीको अहिले उपचार भइरहेको छ ।

‘अस्पतालमा बेड खाली नै थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। शैलेन्द्र विकसँग सल्लाह गर्दा गाह्रो भएको भए बागलुङमै ल्याउन सुझाव दिएपछि एम्बुलेन्समार्फत ल्याइएको हो,’ फोकल पर्सन घिमिरेले भने, ‘उहाँको बहिनी पनि स्वास्थ्यकर्मी नै हुन् । अहिले अक्सिजन दिएर उपचार भइरहेको छ ।’संक्रमित महिलालाई अक्सिजन दिएर उपचार गराइरहेको अस्पतालका मेसु डा शैलेन्द्र विक पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ‘ज्वरो, श्वास फेर्न गाह्रो भएको हुँदा हाइफ्लो अक्सिजन दिएर उपचार भइरहेको छ,’ डा। विकले भने ।

उनका अनुसार प्रदेश मातहत रहेको २५ बेडको अस्पतालमा अहिले १९ जना संक्रमितको उपचार भइरहको छ । ‘अधिकांश बिरामी अक्सिजन लगाउनुपर्ने बिरामी छन्,’ डा। विकले भने, ‘अस्पतालमा बेड भएसम्म काठमाडौंमै उपचार गर्नुपर्र्छ भन्ने छैन । बेड क्षमता भएसम्म यहीं पनि उपचार गर्न सक्छौं ।’

धौलागिरि अस्पताल यस्तो अस्पताल हो, जहाँ नेपालमै पाँचौ र गण्डकीमै पहिलो कोरोना संक्रमितको उपचार भएको थियो । गत वर्ष चैत १५ गते बागलुङकी अंशु सापकोटालाई कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमै खैलाबैला भएको थियो । धेरैले काठमाडौंमा उपचारका लागि पठाउन दबाब दिइरहँदा मेसु शैलेन्द्रकै नेतृत्वमा धौलागिरि अस्पतालमै भर्ना गरेर उपचार भएको थियो ।

अस्पतालमा पाँच आईसीयू बेड र भेन्टिलेटर छन् । सबै बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा चाप बढेको डा। विकले बताए । ‘पछिल्लो २४ घण्टामा मात्रै ७ जना गम्भीर बिरामी भर्ना गरिएको छ,’ उनले भने, ‘तर, अस्पतालमा नर्सिङ र मेडिकल अधिकृतको अभाव छ ।’ बागलुङमा अहिले २०० संक्रिय संक्रमित छन् । अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । संक्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको छ ।

साभार अनलाइन खवर डटकमबाट