कोरोना संक्रमणबाट बागलुङमा कार्यपालिका सदस्यको मृत्यु

  • २१ बैशाख २०७८, मंगलवार
  • 1114 पटक पढिएको

बागलुङ २१ बैशाख । कोरोना भाइरस (कोभिड १९)बाट बागलुङको ताराखोला गाउँपालिकाका एक महिलाको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उपचारका क्रममा मृत्यु भएको हो।

भण्डारीलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति धौलागिरी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्पताल लगिएको थियो। ‘रुघाखोकी कोरोना लक्षण देखिएपनि घरमै बसेर औषधी खाइरहनु भएको रहेछ,’ ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले भने, ‘कोभिड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍यौ, तर कठिन भएपछि तत्काल धौलागिरी अस्पताल रेफर गरेर पठाएका हौँ।’

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोपसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए। खोपले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ। काठेखोला गाउँपालिका(३ धम्जा माइत भएकी उनले अन्तरजातिय विवाह गरेकी हुन्। भण्डारी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन्। उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सदस्यसमेत हुन्।

योसँगै बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। कुल १ हजार ३ सय ५ जना संक्रमित भइसकेको यस जिल्लामा हाल १ सय ९९ संक्रिय संक्रमित छन्। बागलुङ जिल्लामा तीव्रतर गतिमा कोरोना संक्रमण फैलिएको भन्दै नेपाल सरकारले अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। कोरोना संक्रमण बढ्दै गएपछि आजदेखि बागलुङ नगरपालिकामा १० दिन लकडाउन गरिएको छ