धौलागिरि आधार शिविरमा भेटिएको हेलिकप्टरको अवशेषको वास्तविकता यस्तो छ

  • १७ बैशाख २०७८, शुक्रबार
  • 1095 पटक पढिएको

म्याग्दी १७ वैशाख । नेपाली सेनाको हिमाल सफाइ अभियानमा निस्किएको सेनाको टोलीले म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविरमा हेलिकप्टरको अवशेष फेला पारेपछि यस बिषयले राष्ट्रिय मिडियामा प्राथमिकता पाएको छ । नेपाली सेनाको टोलीले शुक्रवार आधार शिविरमा दुर्घटनाग्रस्त हेलिकप्टर र त्यहि स्थान नजीकै दुई सबको अवशेष फेला पारेपछि यस बिषयले दिनभर मिडियामा चर्चा पाएको हो । तर सेनाले फेला पारेको हेलिकप्टर १५ बर्ष अघिको दुर्घटनासंग जोडिएको छ भने भेटिएका दुई सब हेलिकप्टर दुर्घटनासंग सम्बन्धीत नभएको पाईएको छ ।


सन् २००६ अर्थात् आजभन्दा पन्ध्र वर्षअघि एयर डायनेष्टीको हेलिकप्टर धौलागिरि हिमालको आधार शिविर पुगेको थियो। नागरिक उड्डयन प्राधिकरणका अनुसार त्यो हेलिकप्टर ३ सेप्टेम्बर २००६ मा धौलागिरि आधार शिविर गएको थियो। उद्धारका लागि गएको नाइनएन एसिआर एएस–३५० बिए हेलिकप्टर आधार शिविरनजिक ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो। अप्ठ्यारो ठाउँमा ल्याण्ड गराउन खोज्दा हिउँमा चिप्लिएर दुर्घटना भए पनि मानवीय क्षति भएको थिएन। क्याप्टेन हिराबाबु दाहालले उक्त हेलिकप्टर उडाएका थिए।
त्यो हेलिकप्टर धौलागिरि आधार शिविरबाट एक किलोमिटर टाढा मात्र दुर्घटना भएको थियो। तर, त्यो हेलिकप्टरको अवशेष भने पन्ध्र वर्षपछि नेपाली सेनाले बुधबार फेला पा¥यो। सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार हिमाल सफाइ अभियानमा निस्किएको सेनाको टोलीले हेलिकप्टरको अवशेष फेला पारेको थियो। एयर डायनेष्टी तथा त्यससँग सम्बद्ध स्रोतहरूका अनुसार उक्त हेलिकप्टर दुर्घटनापछि कम्पनीले बिमा दाबी गरी क्षतिपूर्ति लियो।

महत्वपूर्ण केही उपकरण हेलिकप्टरबाट झिकेर काठमाडौं ल्यायो। तर, अवशेष त्यहीँ छोडिदियो।त्यही अवशेष सेनाले फेला पार्दा नजिकै दुई वटा शव पनि फेला परेका थिए। ती शव दुर्घटनासँग सम्बन्धित छैनन्। पन्ध्र वर्षअघिको त्यो घटना अवशेष फेला परेपछि ताजा भएको छ। तथापि, एयर डायनेष्टी र त्यहाँका कर्मचारीले आधिकारिक रुपमा घटना कसरी भएको थियो बताउन मानेका छैनन्। पाइलट दाहालकै अनुसार चिप्लिएर दुर्घटना भयो। त्यसमा उनी पनि घाइते थिए। उनले त्यो घटनाबारे आफूलाई विस्तृतमा भन्न मन नलागेको बताए। ‘मलाई उक्त घटना नसम्झाउनुस्,’ उनले भने। दाहालका अनुसार हेलिकप्टरमा उनी एक्लै थिए। ‘म रेस्क्यु गर्न गएको थिएँ, हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भयो,’ उनले भने। दाहाल अहिले मनाङ एयरमा कार्यरत् छन्। यतिका वर्षसम्म आधार शिविरमै रहेको हेलिकप्टरको अवशेष कसैले पनि हटाएको थिएन। न डायनेष्टीले नै अवशेष ल्याउन इच्छायो।

उसले बिमाको पैसा भुक्तानी लियो, अवशेष ल्याउन नसकिएको भन्दै छोडिदियो। ‘त्यो बडी ल्याउन नसकिएको हुनाले दुर्घटना भएदेखि नै त्यहीँ छोडिएको हो,’ डायनेष्टीका एक कर्मचारी भन्छन्। डायनेष्टीका प्रवन्धक पवित्र कार्कीले पनि अवशेष ल्याउन नसकिएको बताए। ‘बडी ल्याउनका लागि सम्भव भएन, त्यो अवशेष त्यहाँ पन्ध्र वर्षअघि नै थियो, त्यो भेटिएको नभएर हामीले नल्याएर छोडेको हो,’ उनले भने। तर, ती दुई शव भने त्यो दुर्घटनासँग सम्बन्धित नरहेको उनले बताए। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार दुर्घटना प्रतिवेदनअनुसार मानवीय क्षति भएको थिएन। सेनाले ती शव के कसरी त्यहाँ रहन गए अनुसन्धान गरिरहेको छ। ती शव शिविरबाट दुई सय मिटर टाढा थिए। सेनाका अनुसार ती शव संकलन गरिएको छ। अवशेष उठाउने प्रक्रिया चलिरहेको छ। हिमालहरूको सफाइ उद्देश्यले सेनाको नेतृत्वमा टोली हिमशृंखलामा खटिएको छ। सैनिक प्रवक्ता पौडेलका अनुसार सगरमाथासहित छ वटा हिमालबाट फोहोर संकलन जारी भइरहेको छ। अभियानमा स्थानीय सरकार, सम्बद्ध संघ–संस्था एवम् स्थानीयसँग समन्वय र सहकार्य गर्दै फोहोर सफा गरिरहेका छन्। त्यसैक्रममा सेनाले नायनेष्टीको हेलिकप्टर फेला पारेको थियो। ‘त्यो अवशेष हटाउने प्रयास जारी छ, शव संकलन गरिसकिएको छ, के कसरी ल्याउने विषयमा टोलीले काम गरिरहेको छ,’ प्रवक्ता पौडेलले भने।
सेतोपाटीको सहयोगमा तयार सामाग्री