पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै संसद अवरुद्ध

  • १४ बैशाख २०७८, मंगलवार
  • 862 पटक पढिएको

पोखरा । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्तावको प्रक्रियालाई अल्मल्याउन नयाँ चाल चलेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका छन् ।

मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । उनीहरुले कोरोना संक्रमण बढेको भन्दै प्रदेशसभा कर्मचारी तथा सांसदहरुको पिसिआर परीक्षण गरेरमात्र बैठक सञ्चालन गर्न माग गरेका छन् ।

विपक्षी दलहरुले भने यसलाई ‘केही समय सत्ताको आयु लम्ब्याउने खेल’ भनेका छन् । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेले रातोपाटीसँग कुरा गर्दै भने, ‘पिसिआर परीक्षण सरकारले नै गर्ने हो, बैठक कहिले बस्छ भन्ने पनि उहाँहरुलाई थाहा नभएको होइन, सरकारले समयमै किन परीक्षण गरेन ?’

अविश्वास प्रस्ताव प्रक्रियामा गइसकेको र चार विपक्षी दल मिलेर त्यसलाई पारित गर्ने निश्चित भइसकेको अवस्थामा अत्तालिएर सत्ता पक्षले प्रदेशसभाको विशेष अधिवेशनलाई अलमल्याउनका लागि यस्तो माग गरेको उनको भनाइ छ ।

उल्लेखनीय छ, सोमबार बसेको विशेष अधिवेशनको पहिलो बैठकको सुरुवातमा पनि सत्ता पक्षले संसद अवरुद्ध गरेको थियो । सभामुखले समय दिएपछि एमालेका सांसदले पिसिआर परीक्षण गरेरमात्र बैठक सञ्चालन हुनुपर्ने माग गरेका थिए । यद्यपि त्यसपछि बैठक सञ्चालन भएको थियो ।

विशेष अधिवेशनको दोस्रो दिन अविश्वास प्रस्तावमाथि सांसदहरुले बोल्ने कार्यसूची छ । तर बैठक सुरु भएलगत्तै सत्ता पक्षले अवरोध गरेपछि केहीबेरका लागि बैठक स्थगित गरिएको छ ।  बैठक सञ्चालन गर्नेबारेमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको बताइएको छ ।

राताेपाटी डटकमबाट साभार ।