ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु, प्रदेश सभा सदस्य केसीद्धारा शिलान्यास

  • १२ बैशाख २०७८, आईतवार
  • कमल खत्री
  • 2291 पटक पढिएको

बेनी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको मन्दिरको शनिवार शिलान्यास गरिएको छ । विभागबाट योजनाको ठेक्का सम्झौता भएर निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएपछि मन्दिर भत्काएर पुननिर्माण गर्न धार्मिक विधि अनुसार शिलान्यास गरिएको हो ।

मन्दिरको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले शिलान्यास गर्नुभएको थियो । सयौँ बर्ष पुरानो जिर्ण मन्दिरलाई स्थानीय मौलिकता नमासिने गर आधुनिक प्रविधिको समेत प्रयोग गरि टिकाउ र बलियो बनाउने गरि पूर्वाधार निर्माण गर्नुपर्ने प्रदेश सभा सदस्य केसीले बताउनुभयो । उहाँले भगवती कोत मन्दिरको पुननिर्माण पछि धार्मिक पर्यटकहरुको आगमन बढाउनका लागि समेत सहयोगी बन्ने अपेक्षा गर्नुभयो ।

विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले भ्याट सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरि कार्यक्षेत्रमा पुननिर्माणको काम सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि राजिब ढुंगेलले बताउनुभयो ।२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी बनाउने गरि पुननिर्माण कार्य अघि बढाउने तयारि गरिएको छ ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको स्थानीय युवा हरि भण्डारीले बताउनुभयो । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ । धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ ।

मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले भगवतीमा रहेका अन्य धार्मिक क्षेत्रहरुको समेत जिर्णोद्धार र प्रचार प्रसारतर्फ जोड दिईएको बताउनुभयो । यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ भने पैदलयात्रा मार्फत समेत सहजै पुग्न सकिन्छ ।

तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको पाईन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l