युवा संघ गण्डकी प्रदेशको इन्चार्जमा म्याग्दीका विश्वकर्मा चयन
- ११ बैशाख २०७८, शनिबार
- 1241 पटक पढिएको
म्याग्दी ११ वैशाख । युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । संघको पदाधिकारी बैठकबाट सबै प्रदेशमा इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो । नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल समूह निकट संघको गण्डकी प्रदेश इन्चार्जमा चयन हुनुभएका विश्वकर्मा केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमका विरुद्धमा संघर्षरत नेपाल खनाल पक्षले देशभर समानान्तर कमिटी गठन गरिरहेका छन् । बैठकले गण्डकी प्रदेशको सहइन्चार्जमा हिरालाल विक, अध्यक्षमा कमल गैह्रे र सचिबमा सन्तोष अधिकारी र युवा संघ म्याग्दीका इन्चार्जमा जिवन सापकोटा र सहइन्चार्जमा नबिन केसीलाई चयन गरेको छ ।