स्पेनका ८२ वर्षीय कार्लोस धवलागिरि आरोहणका लागि बेसक्याम्प पुगे

  • ८ बैशाख २०७८, बुधबार
  • 1363 पटक पढिएको

म्याग्दी ८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ स्थित धवलागिरि हिमालको आरोहणका लागि स्पेनका ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया धवलागिरि ‘बेसक्याम्प’ पुगेका छन् । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने अभियानमा रहेका कार्लोसले आफ्नो युटुब च्यानलमा भिडियो अपलोड गर्दै आफु आधार शिविर पुगेको जानकारी दिएका छन् । आईतवार धवलागिरि आधार शिविर पुगेका कार्लोसले आफु हिमाल आरोहण गरि फर्कने अठोट व्यक्त गरेका छन् ।

बढी उमेरमा हिमाल आरोहणको कीर्तिमान राख्न अब उनले धवलागिरि र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ । सितो र लुइस नाम गरेका उनका दुई स्पेनिस साथीहरु र शेर्पाहरु आरोहण दलमा रहेका छन् । तीन साताअघि स्पेनदेखि नेपाल आएका कार्लोसले दुई हप्ताको समय खुम्बु क्षेत्रमा ट्रेकिङ् गर्दै बिताएका थिए । त्यहाँबाट काठमाडौं फर्किएर गत साता उनि धवलागिर प्रस्थान गरेका हुन् ।

उनले धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका थिए । दुई दशकयता १०औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटरमाथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त रहेका छन् । उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला चुम्न सफल भएका थिए ।