रघुगंगा गाउँपालिकाको भवन बनाउन मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन (भिडियो सहित)

  • ३ बैशाख २०७८, शुक्रबार
  • 1960 पटक पढिएको

म्याग्दी ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि गाउँपालिकाको केन्द्र मौवाफाँटमा साढे १२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । २३ जना जग्गाधनी मार्फत गाउँपालिकाको लागि उक्त जग्गा व्यवस्थापन गरिएको हो ।

 

गाउँपालिकाको भवन लगायतका पूर्वाधार बनाउन गाउँपालिकाको नाममा जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारण अनुसार जग्गाधनीहरुको मञ्जुरीनामा लिएर नयाँ बस्तीको विकास संगै गाउँपालिकाको लागि जग्गा व्यवस्थापनको काम गरिएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २३ जना जग्गा धनीको ३२ कित्तामा रहेको २४ रोपनी जग्गाबाट गाउँपालिकाको लागि साढे १२ रोपनी जग्गा व्यवस्थापन भएको छ । गाउँपालिकाको प्रमुख प्रशासकिय भवन, सभाहल लगायतका पूर्वाधार निर्माण गर्ने प्रयोजनका लागि ९ जनाले साढे ७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । त्यसैगरि १४ जना जग्गा धनीहरुले घडेरी लिने गरि आफ्नो जग्गा गाउँपालिकालाई उपलब्ध गराएका हुन् ।

 

२४ रोपनी जग्गा रेखांकन गरिएको मध्ये सडक विस्तारमा ६ रोपनी, घडेरी फिर्तामा साढे ५ रोपनी र साढे १२ रोपनी गाउँपालिकालाई व्यवस्थापन गरिएको जग्गा व्यवस्थापन समितिका सचिब मुकुन्द शर्माले जानकारी दिनुभयो । गाउँपालिकाको जग्गा व्यवस्थापन गरिएको क्षेत्रमा बनाइएको सडकको चक्रपथले समेटिएका वरिपरिका जग्गा धनीले निःशुल्क जग्गा दिएका हुन भने रेखांकन गरिएको क्षेत्रभित्र पुरै जमिन परेका जग्गा धनीहरुलाई उनीहरुको कुल जग्गाको एक तिहाई जग्गा प्लटिङ गरिएको घडेरी फिर्ता गर्ने विधि बनाएर जग्गा व्यवस्थापन गरिएको शर्माले बताउनुभयो ।

गाउँपालिकाले बिचमा जग्गा पर्नेहरुलाई ८ मिटर फराकिलो सडक र बिजुलीको पोल समेतको पूर्वाधार तयार भएको घडेरी बनाएको छ । गोलापोला मार्फत घडेरी पाउनेहरुको स्थानको टुंगो लगाईसकिएको र जग्गा रजिष्टेशनको प्रकृयामा गएको गाउँपालिकाले जनाएको छ । सबै जग्गाधनीको मञ्जुरीनामा लिएर काम गरिएको र जग्गा व्यवस्थापनको अधिकाँश काम सम्पन्न भएपनि केहि जग्गाधनी देश बाहिर रहेकाले पूर्णता पाउन ढिलाई भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

‘‘जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ, जग्गा सम्याउने, पक्की पर्खाल बनाउने, सडक र बिजुली लगायतका पूर्वाधारहरु बनिसकेका छन्, नापि र मालपोतसंगको समन्वयमा जग्गादाताहरु मार्फत गाउँपालिकाको नाममा ल्याउने र घडेरीको रुपमा प्राप्त गर्ने जग्गा धनीहरुलाई उपलब्ध गराउने काम भैरहेको छ’’– उहाँले भन्नुभयो ।

जग्गा व्यवस्थापनमा गाउँपालिकाले अहिलेसम्म रु १ करोड ४६ लाख खर्च भएको जनाएको छ । गाउँपालिकाको लागि उपयुक्त स्थानमा जग्गाधनीहरुको योगदानले जग्गा व्यवस्थापन भएकाले निकट भबिश्यमै गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण योजना समेत अघि बढ्ने गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।