सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना

  • २८ चैत्र २०७७, शनिबार
  • 1263 पटक पढिएको

 

म्याग्दी, २८ चैत । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । म्याग्दीको पश्चिमी क्षेत्र र बागलुङ जोड्ने सडकको मुख्य नाकामा प्रहरीको नियमित उपस्थिति गराई सुरक्षा निगरानी बढाउन पोष्टको स्थापना गरेको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताए ।

बेनी नगरपालिकाको कार्यालय अगाडी म्याग्दी नदी माथि हाँडेभिर जोड्ने पुलको छेउमा म्याग्दी यातायात प्रा.लीले बनाएको टिकट काउन्टरको टहरालाई रंगरोगन र फर्निचर ब्यवस्थापन गरेर प्रहरी पोष्ट राखिएको हो । यसैगरी सामुदायिक चोकमा धौलागिरी यातायात प्रा.ली.ले बनाएको टिकट काउन्टरमा ट्राफिक प्रहरीको पोष्ट बनाइएको छ । दुई वटै यातायात कम्पनीको टिकट काउन्टर बहुउद्देश्यिय मैदानमा स्थानान्तरण गरेपछि खाली थिए ।

नाकामा चेकजाँच र निगरानी बढाएर अपराध, दुब्र्यसनी, दुर्घटना न्युनीकरण, यात्रुलाई सहायता प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सुरक्षाकर्मीलाई झरीमा रुझ्दै, घाममा धुलो खादै सुरक्षा ब्यवस्थापनमा खटिनुपर्ने अवस्था हट्ने बताइएको छ ।

नगर प्रमुख श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, बेनी–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।