बुद्ध एकेडेमीद्धारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाई

  • २२ जेष्ठ २०७४, सोमबार
  • धु्बसागर शर्मा
  • 2719 पटक पढिएको

 

बेनी, २२ जेठ । ४७ औं विश्व वातावरण दिवस तथा १८ औं राष्ट्रिय सरसफाई सप्ताहाको अवसरमा म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले वृक्षरोपण तथा सरसफाई  कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका २ सय जना विद्यार्थी,शिक्षक र कर्मचारीले  म्याग्दी नदी किनार,हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरंजा सडकको बगरफाँट खण्ड र विद्यालय क्षेत्रमा फालिएको फोहोर संकलन गरी नष्ट गरेका थिए ।

 
त्यसैगरी विद्यार्थीहरुले वातावरण संरक्षणका लागि खालीजग्गामा विभिन्न प्रजातिका विरुवाहरु रोपेर हराभरा वातावरण बनाउने अभियान पनि शुरु गरेका छन् । जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीबाट विरुवा माग गरी विद्यार्थी र शिक्षकहरुले सरस्वती प्राविको खाली जग्गा,म्याग्दी नदीको तटीय क्षेत्र र विद्यालय परिसरको खाली जग्गामा वृक्ष रोपण गरेका विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद शेढाईले बताउनुभयो ।


त्यसैगरी वातावरण दिवसकै अवसरमा विद्यार्थीहरुको बगरफाँट गाउँको सरसफाई गर्नुका साथै स्थानीयलाई सरसफाईको महत्व र वातावरण संरक्षणका फाइदाहरुका वारेमा अनुभव आदानप्रदान समेत गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रिन्सिपल शेढाईले तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण वातावरणीय सन्तुलन विग्रदै गएको अवस्थामा अनुकुलन हुने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।

धु्बसागर शर्मा