किसानलाई कृषि औजारमा अनुदान

  • २१ चैत्र २०७७, शनिबार
  • 1295 पटक पढिएको

म्याग्दी, २१ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराइएको हो ।  २६१ जना किसानलाई प्लास्टिक टनेल, ७८ जनालाई स्प्रे, ७४ जनालाई सिकेचर, २९ जनालाई यान्त्रिक हलो, १० वटा पिसानी मिल, ८ वटा चापाकटर र १३ वटा थ्रेसर वितरण सुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक मनोज सुवेदीले जानकारी दिए ।


‘किसानलाई सामान खरिदको कुल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ’, उनले भने, ‘कृषि सामग्री खरिदमा ८लाख र यान्त्रिकीकरणका लागि १६ लाख रुपैयाँ विनियोजन गरेको थियो । किसानसहित ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरियो ।’  गत २० कात्तिकको कार्यपालिका बैठकले पारित गरेको कृषि यान्त्रिकीकरण कार्यक्रम कार्यविधि, २०७७ लाई आधार मानेर २१ मंसिर २०७७ देखि ६ पुससम्म किसानबाट माग संकलन गरिएको थियो ।

‘टनेल, सिकेचर, स्प्रे र बिउबिजन माग गरेका सबै किसानले पाएका छन्’, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘यान्त्रिक हलो, थ्रेसर, चापाकटर र मिसानी मिल भने समूह र फार्मलाई उपलब्ध गराइएको छ ।’ विभिन्न फार्मलाई प्रतिस्पर्धा गराएर सामान खरिदको न्यूनतम मूल्य राखेर छनोट गरिएको र किसानमार्फत नै भुक्तानी हुने प्रक्रियामा छ ।

१२० ग्रामको ६ मिटर चौडाइ र १२ मिटर लम्बाइको प्लास्टिक टनेल प्रतिगोटा ५ हजार ८००, डिजेलबाट चल्ने ५.५ हर्षपावर क्षमताको यान्त्रिक हलोलाई ४७ हजार, घाँस पराल काट्ने चापाकटर प्रतिगोटा ३८ हजार रुपैयाँका दरले उपलब्ध गराइएको थियो । पिसानी मिल प्रतिगोटा २३ हजार ८००, थ्रेसर प्रतिगोटा ५९ हजार, सिकिचर प्रतिगोटा १ हजार ५० र स्प्रेयर २ हजार ५० रुपैयाँ न्यूनतम मूल्यमा सामान आपूर्ति गर्ने कबोलेका थिए । कुल मूल्यको ५० प्रतिशत किसान, फार्म, सहकारी र समूहले बेहोरेका हुन् ।

३ हजार किबी र ३ हजार दाँते ओखरका बिरुवा वितरण गरिसकेको गाउँपालिकाले बर्खा सिजनमा सुन्तला जातका फलफूल र केराका बिरुवा वितरण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुविधा नपाएका साना किसानलाई लक्षित गरेर सामग्री र औजार वितरण गरेको उपाध्यक्ष कमला तिलिजाले बताइन् ।