बेनी– जोमसोम सडकमा एक सातापछि सिधा यातायात सुचारु

  • २० चैत्र २०७७, शुक्रबार
  • 1153 पटक पढिएको

बेनी, २० चैत । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सेवा सुचारु भएको छ । सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरि सडक चौडा बनाउनका लागि गत चैत १४ गतेदेखि सिधा यातायात बन्द गरिएको थियो । गत पुसदेखि निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गर्दै आएकोमा एक साता समयसम्म जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमती लिएर विस्फोटक पदार्थ प्रयोग गरि सडक फराकिलो बनाउने काम गरिएको हो ।

भीरमा सडक फराकिलो बनाउन बन्द भएको सडक शुक्रवारदेखि सुचारु भएको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार, विस्फोटक पदार्थ प्रयोग गरि सडक चौडा बनाउने काम गरिएपनि पुरै भीरको काम सक्न भने केहि महिना लाग्नेछ । यस भिरमा एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने भएकाले सडक चौडा बनाउन लामो समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । बेनी–सोमसोम खण्डमा सिधा सवारी सुचारु भएसंगै एकसातादेखि बेनी हुँदै जोमसोम र जोमसोम देखि बेनी हुँदै आवत जावत गर्ने पर्खाइमा रहेका यात्रुहरुलाई सहज भएको छ ।

उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किमी लामो बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।