गुमेको ज्योति फर्किएपछिको खुसी -आलेख (भिडियाे सहित)
- १८ चैत्र २०७७, बुधबार
- 2319 पटक पढिएको
धिरन खत्री
बेनी, १८ चैत । धवलागिरि गाउँपालिका–७ ताकमका ८५ बर्षिय धनबहादुर विकले विगत ४ बर्षदेखि राम्रोसंग आँखा देख्न छाड्नुभएको थियो । बुढयौली लागेसंगै आँखामा समस्या आएपछि हिँडडुल गर्न आफन्तको साहरा लिदै आउनुभएका विकको आँखाको ज्योति फर्किएसंगै उहाँको गुमेको खुसी पनि फर्किएको छ । ‘‘ चार बर्षदेखि दाइने आँखाले मेसो नै पाउन नसक्ने भएको थिए, आँखा देख्न मुस्किल हुन थालेपछि धेरै नै समस्या व्यहोरेँ, आँखाको उपचार पछि दुबै आँखाले देख्न सक्ने भएको छु, मेरो हराएको खुसी आँखा खुलेसंगै फर्कियो’’– बिकले भन्नुभयो ।
म्याग्दी सदरमुकाम बेनीमा चैत १४ देखि १७ गतेसम्म सञ्चालन भएको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविरमा विक जस्तै ६८ जनाले मोतिविन्दुको उपचार गराएका छन् । शिविरमा आएर सल्यक्रिया सहितको उपचारबाट आँखा देख्न सक्ने भएपछि अब हिँडडुल गर्न सहज हुने उनीहरुको भनाई छ । बिकको जस्तै सिवाङका ७९ बर्षका मनबहादुर गुरुङ पनि फुरुङ्ग पर्नुभएको छ । आँखाले राम्रोसंग देख्न छाडेपछि आफन्तलाई समेत बोलीबाटै सुनेर चिन्नुपर्ने बाध्यता व्यहोर्दै आउनुभएका गुरुङले मोतिविन्दुको शल्यक्रिया पछि आँखाले देख्न सक्ने भएकोमा खुसी व्यक्त गर्नुभयो ।
‘‘ घरमा यताउता गर्न पनि आँखाको समस्याले आफन्तको सहारा लिनुपथ्र्यो, आफ्नै जिल्लामा आँखाको उपचार गराउन पायौँ, खर्च पनि बच्यो, आँखा पनि खुले’’–उहाँले भन्नुभयो । बेनीमा मोतियाबिन्दुको उपचार गराउनुभएका रघुगंगा गाउँपालिका–७ चिमखोलाका ८६ बर्षिय प बहादुर तिलिजाले पनि गुमेको प्रष्ट दृष्टि फर्कने आस नभएपनि शिविरमा उपचार गराउन पाउँदा खुसी लागेको बताउनुभयो । बुढ्यौली लागेपछि आँखामा देखिएको समस्या थप बढ्दै जानेतर्फ चिन्ता थपिएको समयमा शिविरबाट उपचार गरि आँखा देख्न सक्ने भएपछि अब मान्छे चिन्न र हिँडडुल गर्न सहज हुने उहाँको भनाई छ ।
शिविरमा आएर आँखामा रहेको मोतिविन्दुको शल्यक्रिया गरि उपचार गरेपछि देख्न सक्ने हुनुभएका मालिका गाउँपालिका–७ बिमका ७१ बर्षका ओमप्रसाद दर्जीले केहि बर्षदेखि अरुको सहारामा विताउनुपरेको दैनिकी पुन ः आफनै पुरानै अवस्थामा फर्किएको अनुभुति भएको सुनाउनुभयो । ग्रामीण भेगमा मोतिविन्दुका कारण आँखा नदेख्ने अवस्थामा पुगेका विरामीहरुलाई लक्षित गरि सञ्चालन गरिएका शिविरबाट पहिचान भएका विरामीहरुको उपचारका लागि बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा क्रियाशिल लायन्स क्लबकहरुले हिमालय आँखा अस्पताल, नेत्र ज्योतिसंघ संघ म्याग्दी, रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरेका हुन् ।
जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका, धौवलागिरि, मंगला र पर्वतको जलजला गाउँपालिकामा संचालन गरिएको आँखा जाँच शिविरहरुबाट पहिचान गरिएका मोतिविन्दुका समस्या भएका विरामीहरुको उपचारका लागि आयोजना गरिएको शिविरबाट ६८ जनाको सफल सल्यक्रिया सहितको उपचार भएको शिविरका मुल संयोजक रहनुभएका लायन्स क्लबका रिजन चियर प्रसन लोकेश पुनमगरले जानकारी दिनुभयो । आँखा जाँच शिविरहरुबाट ११२ जनामा मोतियाविन्दुको पहिचान गरिएको भएपनि कतिपयको सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या र कतिपय सम्पर्कमा नआएको लगायतका कारणले सबैको शल्यक्रिया गर्न सम्भव नभएको र उनीहरुको लागि पुनः अर्को शिविरहरु मार्फत आँखाको उपचार गराउने प्रवन्ध मिलाउन प्रयासरत रहने पुनको भनाई छ ।
म्याग्दीमा लायन्स क्लबहरुले हरेक बर्ष आँखा जाँच र मोतिविन्दु पहिचान भएकाहरुको उपचारका लागि शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छन् । शिविरबाट आर्थिक विपन्नताको कारण अस्पतालहरुमा पुगेर उपचार गराउन नसकेका दुर्गम र ग्रामीण बस्तीका नागरिकहरुले राहत पाएका छन् । मोतिविन्दु उमेर बढ्दै जाँदा हुने रोग भएपनि शल्यक्रिया गरेपनि पुनः दृष्टि फर्कने भएकाले यस्ता शिविरहरुले मोतियाविन्दुको उपचारमा ठुलो राहत पु¥याउने गरेको शिविरमा उपचारका लागि आउनुभएका हिमालय आँखा अस्पतालका डाक्टर सुवास नेपालले बताउनुभयो ।
‘‘ ४० कटेपछि धेरैमा मोतिविन्दुको समस्या देखिन सक्छ, यो अन्धोपनको प्रमुख कारण पनि हो, यसको उपचार भनेको सल्यक्रिया गर्नु नै हो, शल्यक्रियापछि ज्योति फर्कने भएकाले पनि आँखामा समस्या आएमा जाँच गर्नु जरुरी छ’’– डाक्टर नेपालले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सुभारम्भ गर्नुभएको शिविरमा समापन समारोहमा शिविरमा परिचालन हुनुभएका डाक्टर, स्वास्थ्यकर्मी र प्राविधिक सहित प्राविधिक सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो ।