बेनीमा ६८ जनाको मोतिविन्दु शल्यक्रिया (तस्बिर र भिडियो )

  • १७ चैत्र २०७७, मंगलवार
  • धिरन खत्री
  • 1602 पटक पढिएको

धिरन खत्री
म्याग्दी १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा ६८ जनाले उपचार गराएका छन् । ग्रामीण भेगमा मोतिविन्दुका कारण आँखा नदेख्ने अवस्थामा पुगेका विरामीहरुलाई लक्षित गरि सञ्चालन गरिएका आँखा जाँच शिविरबाट पहिचान भएका विरामीहरुको उपचारका लागि बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।

म्याग्दी र पर्वतको जलजला गाउँपालिकामा क्रियाशिल लायन्स क्लबकहरुले हिमालय आँखा अस्पताल, नेत्र ज्योतिसंघ संघ म्याग्दी, रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा चार दिनसम्म सञ्चालित शिविरमा ६८ जनाको मोतिविन्दुको सल्यक्रिया गरिएको शिविरका संयोजक लायन्स क्लबका रिजन चेयर पर्शन लोकेस पुन मगरले जानकारी दिए ।


आँखा जाँच शिविरहरुबाट ११२ जनामा मोतियाविन्दुको पहिचान गरिएको भएपनि कतिपयको सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या र कतिपय सम्पर्कमा नआएको लगायतका कारणले सबैको शल्यक्रिया गर्न सम्भव नभएको र उनीहरुको लागि पुनः अर्को शिविरहरु मार्फत आँखाको उपचार गराउने प्रवन्ध मिलाउन प्रयासरत रहने पुनको भनाई छ ।


जिल्लाको बेनी नगरपालिकासहित रघुगंगा अन्नपुर्ण, मालिका, धौवलागिरि, मंगला र पर्वतको जलजला गाउँपालिकामा लायन्स क्लबहरुले आँखा जाँच शिविरहरुबाट मोतिविन्दु भएका विरामीहरुको पहिचान गरेका थिए । म्याग्दीमा लायन्स क्लबहरुले हरेक बर्ष आँखा जाँच र मोतिविन्दु पहिचान भएकाहरुको उपचारका लागि शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छन् ।


शिविरबाट आर्थिक विपन्नताको कारण अस्पतालहरुमा पुगेर उपचार गराउन नसकेका दुर्गम र ग्रामीण बस्तीका नागरिकहरुले राहत पाएका छन् । शिविरमा आएर आँखाको उपचार गराएका धवलागिरि गाउँपालिका–७ सिवाङका ७९ बर्षका मनबहादुर गुरुङले आँखा खुलेकोमा खुसी व्यक्त गरे । ‘‘ घरमा यताउता गर्न पनि आँखाको समस्याले आफन्तको सहारा लिनुपथ्र्यो, आफ्नै जिल्लामा आँखाको उपचार गराउन पायौँ, खर्च पनि बच्यो, आँखा पनि खुले’’–उनले भने ।

मोतिविन्दु उमेर बढ्दै जाँदा हुने रोग भएपनि शल्यक्रिया गरेपनि पुनः दृष्टि फर्कने भएकाले यस्ता शिविरहरुले मोतियाविन्दुको उपचारमा ठुलो राहत पु¥याउने गरेको शिविरमा उपचारका लागि आउनुभएका हिमालय आँखा अस्पतालका डाक्टर सुवास नेपालले बताए । शिविरको समापन समारोहमा शिविरमा परिचालन हुनुभएका डाक्टर, स्वास्थ्यकर्मी र प्राविधिक सहित प्राविधिक सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरिएको थियो ।   

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l