धौलागिरी गाउँपालिकामा सलामी दस्तुरलाई गाउँपालीका मातहत ल्याउने निर्णय

  • २२ जेष्ठ २०७४, सोमबार
  • 2776 पटक पढिएको

म्याग्दी २२ जेठ । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको पहिलो बैठकले प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी (सलामी दस्तुर)लाई गाउँपालीका मातहत ल्याउने निर्णय गरेको छ । जेठ १८ गते कार्यपालीका गठन भएपछि बसेको बैठकले धौलागिरी हिमाल, ढोरपाटन शिकार आरक्ष, जलस्रोत, जडिवुटी लगायत प्राकृतिक स्रोत साधन वापतको रोयल्टी रकम गाउँपालीका मातहत ल्याउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो ।

गाउँपालीका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले भौगोलिक रुपमा बिकट, चार वडा वडामा सडक सुबिधाको पहुँच नभएको, शिक्षामा पिछडीएको, अल्पसंख्यक छन्त्याल समुदायको बसोबास र गरीबी रहेकाले दुर्गम क्षेत्र घोषणा गरी बजेट बिनियोजनका क्रममा प्राथमिकता दिन माथिल्लो निकायमा माग गर्ने निर्णय समेत गरेको छ ।
गाउँपालीकाको कार्यालय रहेका मुनामा विद्युत र सञ्चार सुबिधाको विस्तार तथा बैङ्कको शाखा स्थापना गर्ने निर्णय भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

सञ्चार, विद्युत र बैङ्कीङ सुबिधाको अभावमा गाउँपालीकाको कार्यालय सञ्चालनमा समस्या उत्पन्न भएको छ । आगामी असार महिनाभित्र गाउँपालीकाको पाश्चचित्र तयार पार्ने, गाउँपालीका केन्द्र र दुर्गम क्षेत्रमा मोवाईलको सेवा विस्तार गर्न नेपाल टेलीकमसंग समन्वय गर्ने निर्णय गरेको बैठकले विपद् व्यवस्थापन, राहत र उद्धारका लागि वडा न. २ का अध्यक्ष गमप्रसाद बिकको अध्यक्षतामा ७ सदस्यीय विपद् दैवी प्रकोप उद्धार समिति गठन गरेको छ ।