खाेपारामा पर्यटन सहकारी मार्फत होटल सञ्चालन

  • १४ चैत्र २०७७, शनिबार
  • 1486 पटक पढिएको

म्याग्दी १४ चैत । म्याग्दीको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको म्याग्दीको पाउद्धार–खयर भारानी क्षेत्रमा भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरि खोपारा डाँडामा पर्यटन सहकारी मार्फत होटल सञ्चालन गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ खोपारामा ‘राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो पटक पाउद्धारा पर्यटन सहकारी संस्था मार्फत होटल सञ्चालनमा ल्याईएको हो ।

यसअघि खोपारामा पाउद्वार मावि र हिमाञ्चल माविले निजी स्रोतका शिक्षकको तलब खर्च जुटाउन सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । अहिलेसम्म होटलमा बनेका संरचनाको मूल्यांकन गरेर सहकारीले रकम पाउद्वार माविको कोषमा जम्मा गरिदिने र होटललाई सहकारी मातहत सञ्चालन गर्न थालिएको सहकारीका सल्लाहकार भीम बहादुर तिलिजा पुनले बताए ।

‘‘ मनोरम हिमसृङ्खलाको अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन्, पर्यटकको सुविधा र स्थानीयबासीको आयआर्जनका लागि सहकारी मार्फत होटल सञ्चालन गरेका हौँ’’– पुनले भने । तीन हजार ६६० मिटरको उचाइमा रहेको खोपारा लेकबाट अन्नपूर्ण, धौलागीरी, माछापुच्छ्रे, मनास्लु रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । खोपारादेखि खयर सम्मको हरियाली पाखा, रंगीविरंगी फुल, चरन क्षेत्रमा रहेका भेडा र चौरीले पर्यटकहरुलार्य लोभ्याउने गरेको छ ।

खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालनमा छ । क्याम्पीङ सहित दैनिक ५० देखि ६० जनासम्मलाई राख्न सक्ने क्षमतामा सहकारीले होटल सञ्चालन गरेको छ । गाउँका सबै स्थानीयलाई समान रुपमा पर्यटनको लाभ पु¥याउने उदेश्यले सहकारी मार्फत होटल चलाईएको सहकारीका अध्यक्ष राजेश तिलिजाले जानकारी दिए ।

सहकारीमा हाल पाउद्वारका १ सय २६ जनाले ८६ लाख २५ हजार रुपैयाँ सेयर लगानी गरेका छन् । स्थानीयबासीले रु २५ हजारदेखि २ लाख सम्म सहकारीमा शेयर लगानी गरेका छन् । गाउँका सबै घरधुरीलाई सहकारीमा समेट्न र लगानीको अवसर दिन गरि छुटेका स्थानीयलाई समेत लगानी गर्न आह्वान गरिएको सहकारीले जनाएको छ ।