१७ औँ शताब्दीको विरासतसँग जोडिएको ऐतिहासिक भगवती कोत मन्दिरको पुरानो स्वरुपको अन्तिम भिडियो

मौलिकता नमासिने गरि पुननिर्माण गरिने

  • १३ चैत्र २०७७, शुक्रबार
  • 1095 पटक पढिएको

 

म्याग्दी १३ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो । विभागबाट योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ । स्थानीयबासी समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, वडा अध्यक्ष कटुवाल लगायतको उपस्थितिमा क्षमा पुजा गरिएको थियो ।

विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले भ्याट सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ । मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी बनाउने गरि पुननिर्माण कार्य अघि बढाउने तयारि गरिएको छ । मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ । यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ भने पैदलयात्रा मार्फत समेत सहजै पुग्न सकिन्छ । तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको पाईन्छ ।