‘रणबहादुर खत्री अक्षयकोष’बाट बालगृहमा खाद्यान्न सहयोग

  • १३ चैत्र २०७७, शुक्रबार
  • 1316 पटक पढिएको

म्याग्दी, १३ चैत । रघुगंगा गाउँपालिका–२ भगवतीका दिवंगत रणबहादुर खत्रीकाे स्मृतिमा उहाँका घर परिवारले  स्थापना गरेकाे  रणबहादुर खत्री  अक्षयकोषबाट  म्याग्दी बालगृहमा खाद्यान्न सहयोग गरिएकाे छ ।  खत्रीको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट नेपाल बाल संगठनबाट संचालित म्याग्दी बालगृहमा बस्ने बालबालिकाहरुको लागि खत्री परिवारले १४ हजार रुपैयाको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।


छोरा झलक खत्री र नाती मिलन खत्रीको उपस्थितमा संगठनका अध्यक्ष राजेश शाक्यलाई खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेका थिए । चामल, तेल, दाल, चाउचाउ लगायतको सामाग्री सहयोग गरेका छन् ।


कार्यक्रममा अध्यक्ष शाक्यले परोपकारी क्षेत्रमा सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिएका थिए । उनले बालगृहलाई बालमैत्री भौतिक पुर्वाधार स्तरोन्नतीमा आर्थिक, नैतिक रुपमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उपसभापति ज्ञानेन्द्र श्रेष्ठको स्वागत, सचिव सन्दिप खत्रीको संचालनमा रहेको सहयोग हस्तान्तरण कार्यक्रममा सदस्य एकेन्द्र रावल र रुद्रप्रसाद सुवेदीको उपस्थित रहेको थियो ।


आगामी दिनहरुमा निरन्तर सामाजिक र शैक्षिक क्षेत्रमा अक्षय कोषबाट प्राप्त ब्याजबाट सहयोग गरिराख्ने झलक खत्रीले बताए । खत्री परिवारले स्वर्गिय आमाको नाममा रहेको अक्षकोषबाट जन्मगाउँमा रहेको सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा अध्ययनरत जेहन्द्रार विधाथीहरुलाई सहयोग गर्दै आएका छन् ।