ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण हुँदै, क्षमा पुजा गरि जिर्ण मन्दिर भत्काउन सुरु

  • १२ चैत्र २०७७, बिहीबार
  • 2765 पटक पढिएको

कमल खत्री
म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो । विभागबाट योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ ।

भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले मन्दिरका महत्वपूर्ण सामान बाहिर निकाल्न र भत्काउनका लागि क्षमा पुजा गरिएको समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । स्थानीयबासी समेत रहनुभएका गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, वडा अध्यक्ष कटुवाल लगायतको उपस्थितिमा क्षमा पुजा गरिएको थियो ।

विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले भ्याट सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरि कार्यक्षेत्रमा प्रारम्भीक चरणका काम सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि राजिब ढुंगेलले बताउनुभयो । विभागका प्राविधिक सहितको टोली र स्थानीय जनप्रतिनिधि र सरोकारवालासंग प्रारम्भीक चरणको छलफल गरिसकिएको र आबश्यक सामागी जुटाएर कार्यक्षेत्रमा परिचालन हुने तयारि गरिएको उहाँले जानकारी दिनुभयो ।

क्षमा पुजामा सहभागी हुनुभएका प्रदेश सभा सदस्य विनोद केसीले सयौँ बर्ष पुरानो जिर्ण मन्दिरलाई जिर्णउद्धारको लागि प्राप्त योजनालाई स्थानीय मौलिकता नमासिने गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भगवती कोत मन्दिरको पुननिर्माण पछि धार्मिक पर्यटकहरुको आगमन बढाउनका लागि समेत सहयोगी बन्ने अपेक्षा गर्नुभयो ।

२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । ‘‘मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गर्ने गरि मन्दिरको पुजा सञ्चालन तथा व्यवस्थापन समिति मार्फत प्रस्ताब तयार गरि विभागमा पेश गरिएको थियो, सोही बमोजिम योजना छनौट भई कार्यान्वयनमा अघि बढेको छ, मन्दिरमा आधुनिक निर्माण सामाग्रीको प्रयोग नगरिकन मौलिकतामै आधारित रहेर बनाउन भनेका छौँ’’– उहाँले भन्नुभयो ।
मन्दिरको पुरानै स्वरुपलाई जोगाउने र भुकम्पपतिरोधी बनाउने गरि पुननिर्माण कार्य अघि बढाउने तयारि गरिएको छ ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरस्थलबाट पवित्र कालिगण्डकी नदी, पुलाश्रम, पञ्चकोट संगै अन्नपुर्ण र निलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिने भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक तथा ऐतिहाँसिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्नतर्फ जोड दिइएको छ ।

मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँले भगवतीमा रहेका अन्य धार्मिक क्षेत्रहरुको समेत जिर्णेउद्धार र प्रचार प्रसारतर्फ जोड दिईएको बताउनुभयो ।

यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि ४ कोष उत्तरमा कालिगण्डकी र रघुगंगा नदीको दोभानको शिरमा रहेको भगवती कोतमन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ भने पैदलयात्रा मार्फत समेत सहजै पुग्न सकिन्छ ।

तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको यो मन्दिरको ईतिहास नेपाल एकिकरण हुनु अघिको तत्कालिन विभिन्न भुरे टाकुरे राजाहरु तथा १४ देखि १७ औँ सताब्दीका बाईसे चौबिसे राज्यका राजाहरुसंग जोडिएको पाईन्छ ।