क्षयरोग दिवस : म्याग्दीमा २४ जना क्षयरोगका विरामी

  • ११ चैत्र २०७७, बुधबार
  • 1882 पटक पढिएको

म्याग्दी ११ चैत । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जनामा उपचार पछि निको भएका छन् ।
गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए ।  त्यसमध्ये ४३ जना उपचार पछि निकाे भएका थिए ।

गतबर्षकोे तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ । वुधबार विश्व क्षरोग दिवसको अवसरमा बेनीमा आयोजना गरिएको पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लाम्सालले क्षय रोगको अवस्थाबारे जानकारी गराउनुभएको थियो । लाम्सालका अनुसार- जिल्लाको बेनी नगरपालिकामा ११ जना, धौलागिरीमा एक जना, अन्नपूर्णमा २ जना, मंगलामा ४ जना र मालिकामा ४ जना रहेका छन् भने रघुगंगामा क्षयरोगका बिरामी शून्य रहेको स्वास्थ्य कार्यालले जनाएको छ ।

कार्यपछिल्लो समय स्वास्थ्यकर्मीले समाजमा क्षयरोगसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेसँगै रोगी पत्ता लाग्नेदर बढ्न थालेको स्वास्थ्य कार्यालयले जनाएको छ । बेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कंडेलले क्षयरोगको औषधी निशुल्क रुपमा पाईने र उपचार सम्भव हुने भएकाले लक्षण देखिएमा स्वास्थ्यसंस्थाहरुमा आउनुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि खोकी लाग्ने, साँझपख ज्वरो आउने, तौल घट्दै जाने र खकारमा रगत देखिनु क्षयरोगको लक्षण भएकाले समयमै स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गराउनुपर्ने डाक्टर कँडेलको भनाई थियो ।

पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनगणना कार्यालयका प्रमुख घनश्याम सापकोटा मन्तव्य राख्नुभएको थियो भने परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । यस बर्ष ‘ संकेत समयको,क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मनाईएको छ ।