दुर्गमका विद्यालयकाे सकस :‘दरबन्दी अभाब, आर्थिक संकट’

  • २ चैत्र २०७७, सोमबार
  • धिरन खत्री
  • 1416 पटक पढिएको

म्याग्दी, २ चैत । धवलागिरि गाउँपालिका–३ फलियागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारले विद्यालय चिटिक्क बनेर विद्यार्थीहरुको आकर्षण बढिरहँदा विद्यालय भने शिक्षक दरबन्दीको अभाबले आर्थिक चपेटामा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)ले यस विद्यालयमा चार कोठे एक भवन निर्माण सम्पन्न भएको छ भने अर्को चार कोठे भवन समेत निर्माणधिन अवस्थामा रहेको छ । विद्यालयका जिर्ण पूर्वाधारहरुमा पठनपाठन गर्नुपर्ने बाध्यता विद्यालय पुननिर्माण अभियानले हटाएको छ ।

तर विद्यालयमा आबश्यक पर्ने जनशक्तिको दरबन्दीले पूर्णता नपाउँदा विद्यालय परिवारले शिक्षक तलब भक्ताका लागि समुदायबाटै आर्थिक जोहो गर्न चन्दा र सहयोग संकलन गर्नुपर्ने बाध्यताबाट उम्कन पाएको छैन् । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा कक्षा ९ र १० कक्षामा शून्य दरबन्दीमा सञ्चालित छ । प्रावि तहमा ४ दरबन्दी, १ राहत, निमाविमा ३ दरबन्दी र १ राहत शिक्षक रहेपनि मावि तहमा २ जना र प्रावि तहमा १ जना गरी विद्यालयले तीन जना शिक्षक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानध्यापक पूर्ण भण्डारीले बताउनुभयो । ‘‘योग्यता पुगेका तल्लो तहमा कार्यरत शिक्षक र नीजि स्रोतबाट राखेका शिक्षकहरुबाट मावि तह सञ्चालन गर्दै आएका छौँ, विद्यालयलाई पूर्वाधारयुक्त बनाउने अभियानले सार्थकता पाउँदै गएपछि जनशक्ति व्यवस्थापनमा समूदायको भरथेकमा चल्नुपर्ने बाध्यता कायमै छ’’–भण्डारीले भन्नुभयो । उहाँका अनुसार, चालु आर्थिक बर्षमा धवलागिरि गाउँपालिकाले एक जना शिक्षक व्यवस्थापन गरेपछि विद्यालयलाई केहि राहत मिलेको छ । ३५१ जना विद्यार्थी अध्ययनरत धनजनता माविमा नीजि स्रोतका शिक्षकको तलब सुविधाका लागि विद्यालय सेवा क्षेत्रका २३७ घरधुरीबाट मासिक रुपमा प्रतिघरधुरी रु ३ सयका दरले सहयोग गर्दै आएका छन् । यसका अलवा विद्यालयले तिहारमा देउसी भैलो र प्रवासबाट जन्मघर आउने व्यक्तिहरुलाई स्वागत लगायतका माध्ययमबाट आर्थिक स्रोत जुटाउँदै आएको प्रअ भण्डारीले जानकारी दिनुभयो ।

धनजनता माविकै जस्तो समस्या धवलागिरि–२ को लमसुङ माविको पनि छ । लमसुङमा अवस्थित यस विद्यालयमा पनि मावि तह समूदायकै भरमा चलेको छ। अधिकाँश दलित र जनजाती समुदायका बालबालिकाहरु अध्ययनरत् यस विद्यालयमा समुदाय स्तरबाट दुई जना शिक्षकको तलब भत्ता जुटाउनुपर्ने बाध्यता रहेको छ ।बार्षिक करिब रु १० लाख तलब भत्ता समुदायबाटै जुटाउनुपर्ने भएपछि यस विद्यालयले वडामा रहेका मुख्य तीन बस्ती लमसुङ, लुलाङ र खोरीया गाउँका समुदायबाट क्रमशः ४०, ३५ र २५ प्रतिशतका दरले व्यभार व्यहोर्दै आएको विद्यालयका प्रधानध्यापक मोहनराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, समुदायले विवाह, बर्तबन्ध, क्षवर र लाहुरे स्वागत तथा सम्मान र देउसी भैलो संगै चन्दा संकलन समेतबाट गरि सहयोग संकलन गरि विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । ‘‘दुर्गममा भएकाले शिक्षकको आकर्षण छैन्, दुर्गम भत्ता समेत दिने गछौँ, तर अझै विषयगत शिक्षकहरुको व्यवस्थापन हुन सकेको छैन्’’–उहाँले भन्नुभयो । यस विद्यालयमा तीन महिनादेखि विज्ञान विषय शिक्षकको पद रिक्त रहेको छ भने गणीत र अँग्रेजी बिषयमा समेत तल्ला तहका शिक्षकको भरमा जनशक्ति व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ । यस विद्यालयले जनशक्ति संगै भौतिक र शैक्षिक पूर्वाधार र सामाग्रीको समेत अभाब खेपेको छ । पुननिर्माण प्राधिकरण मार्फत ४ कोठे भवन निर्माण भएपनि अन्य पुराना भौतिक संरचना जिर्ण रहेको छ भने विज्ञान लगायतका बिषयको पठनपाठनमा प्रयोगशाला लगायतका शैक्षिक सामाग्रीको समेत अभाब रहेको प्रअ पौडेलले जानकारी दिनुभयो । यि केही प्रतिनिधिमुलक समस्याहरु हुन् ।

दुर्गम भौगोलिक क्षेत्रमा समेटिएको धवलागिरि गाउँपालिकाको बुद्धि विकास मावि मुदी, चन्द्रज्योति मावि खिबाङ लगायतका विद्यालयहरुले मावि तहको शिक्षक व्यवस्थापनमा समुदायबाटै ठुलो खर्च व्यहोर्दै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार, म्याग्दीमा १९ वटा मावि तह शून्य दरबन्दीमा सञ्चालित छन् । त्यसैगरि ६–८ (निमावी) तहमा ९ वटा र प्रावि तहमा १० वटा विद्यालय शून्य दरबन्दीका रहेको इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । ‘‘मावि तह सम्मको व्यवस्थापनको अधिकार स्थानीय तहमा गएको छ, जिल्लाका केहि स्थानीय तहहरुले दरबन्दी मिलान सम्बन्धी कार्यविधि अनुसार दरबन्दी मिलानमा जुटेको र केहीले आबश्यक प्रकृया थाल्ने तयारी गरेको बुझिएको छ’’– थापाले भन्नुभयो

शिक्षक व्यवस्थापनको लागि ६० लाख बजेट

दुर्गम क्षेत्रमा रहेका र नीजि स्रोतबाट शिक्षकको तलबभत्ता जुटाउँदै आएका विद्यालयहरुको लागि धवलागिरि गाउँपालिकाले रु ६० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अन्तरगत रहेका १० वटा माविमा ६४ दरबन्दीमा ४८ दरबन्दी शिक्षक अपुग रहेको गाउँपालिकाले जनाएको छ । प्रस्तावित तहमा गाउँपालिकाले ५ वटा मावि र ५ वटा प्राविमा १२ जना नीजि शिक्षकको तलव ब्यवस्थापन लागि चालु आर्थिक बर्षमा ६० लाख बजेट छुट्याएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बनाएको दरवबन्द मिलान तथा ब्यवस्थापन कार्यविधि २०७६ अनुसार विद्यालयमा विद्यार्थीको अनुपातमा पहिलो चरणमा प्राथमिक तहका १४ जनाको शिक्षक दरवन्दी मिलान गरि माविमा ब्यवस्थापन गरिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत कमलप्रसाद अधिकारीले जानकारी दिनुभयो । धवलागिरि गाउँपालिका अन्तरगत रहेको ३० विद्यालयध्ये १० वटा मावि छन् । जसमध्ये हेम मावि र जनजागृति मावि मल्कवाङमा पुरा दरवन्दी रहेको छ । अन्य प्रस्तावित ८ वटा तहमा दरवन्दी नहुदाँ र राहत शिक्षक र गाउँपालिका र स्थानीय स्रोतको भरमा विद्यालयले शिक्षक ब्यवस्थापन गर्दै आएका छन् ।पूर्वाधारमा परिवर्तन आउँदै

समाजको मेरुदण्ड मानिएको शिक्षा क्षेत्रको भौतिक पुर्वाधार विकासमा तिव्रता पाएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले धवलागिरि गाउँपालिका क्षेत्रमा रहेका विद्यालय भवन, शौचालय र खानेपानी पूर्वाधार निर्माणले तिब्रता पाएको छ। यस क्षेत्रमा पुननिर्माण प्राधिकरण शिक्षा इकाई मार्फत निर्माण भैरहेका योजनाहरुको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी नेतृत्वको टोलीले अनुगमन गरेको छ । टोलीद्धारा हेम मावि शिवाङ, धनजनता मावि मुना, लमसुङ मावि लमसुङको चार कोठे भवन र लुलाङ आधारभूत विद्यालय लुलाङको दुईकोठे निर्माण सम्पन्न भवन र निर्माणधि शौचालयको अवस्था, भुमे आधारभूत विद्यालय मच्छिममा निर्माणधिन चारकोठे भवन र शौचालय लगायतको योजनाहरुको अनुगमान गरिएको थियो । यस क्षेत्रका विद्यालयको पूर्वाधार पुननिर्माण अवस्थाबारे स्थलगत निरिक्षणमा पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पुननिर्माण मार्फत विद्यालयहरुको भौतिक संरचनामा परिवर्तन आउन थालेको पाईएको बताउनुभयो । दुर्गम बस्तीमा समेत भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज हुनुको साथै शैक्षिक गुणस्तर सुधारमा समेत सघाउने अपेक्षा गरिएको केसीले बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l