अपर म्याग्दी एक जलविद्यूत आयोजनाको वातावरणीय मुल्याङ्कन सार्वजनीक

  • २१ जेष्ठ २०७४, आईतवार
  • सन्तोष गौतम
  • 4159 पटक पढिएको

म्याग्दी २१ जेठ । धौलागिरी गाउँपालीका ६ कल्लेनीमा शनिबार अपर म्याग्दी १ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।हिमालयन ईन्फ्रास्टक्चर फण्ड लिमिटेडले निर्माण गर्न लागेको ५३.५ मेगावाट क्षमत्ताको आयोजनाको वातावरणीय तथा सामाजिक अध्ययन प्रतिवेदन सार्वजनीक, प्रभावीत क्षेत्रका बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाबाट सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

धौलागिरी ६ का वडा अध्यक्ष राजाराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिमालयन ईन्फ्रास्टक्चर फण्डका निर्देशक उपेन्द्रराज गौतमले आयोजना र परामर्शदाता कम्पनी डिजायर्ड ईन्जिनियरीङका सामाजिक विज्ञ सुरेन्द्र सिङ ऐरले भौतीक, जैवीक, जडीवुटी, वन्यजन्तु, जलचर, सामाजिक आर्थिक तथा सांस्कृतीक क्षेत्रमा पर्ने प्रभाव र असर न्युनीकरणका लागि अपनाइने विकल्पका विषयमा जानकारी गराउनुभएको थियो ।

धौलागिरी गाउँपालीका ४ मुदीको खाम्ला नजिकै बाँध र मालीका गाउँपालीका ७ बिमको भारवाङमा विद्युतगृह रहने रन अफ द रिभर प्रकृतीको आयोजनाको पाच किलोमिटर ५०० मिटर सुरुङ रहने छ । नौ अरब ३३ करोड रुपैया लागत अनुमान गरिएको आयोजनामा प्रभावीत क्षेत्रका बासिन्दाको लागि दश प्रतिशत सेयर लगानीको अवसर, वातावरणीय व्यवस्थापन योजना अन्तरगत ०.५ प्रतिशत बजेट खर्च हुने कम्पनीले जनाएको छ ।

सर्वेक्षणको क्रममा रहेको आयोजना विस्तृत अध्ययन, पिपीए, वित्तिय स्रोत व्यवस्थापन लगायतका प्रक्रिया पुरा गरी निर्माणको चरणमा प्रवेश गर्नेछ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य र धौलागिरी गाउँपालीकाका कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले जलविद्युत आयोजना निर्माणका कारणमा वातावरणीय असर न्युनीकरणका लागि सावधानी अपनाउन र सरोकारवालाहरुसंग समन्वय गरेर अघि बढ्न सुझाव दिनुभयो ।

वातावरण मन्त्रालयका शाखा अधिकृत ईश्विरीदत्त पनेरुले आयोजना निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखीत सुझाव कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्री र राष्ट्रिय जनमोर्चाका छवी विश्वकर्माले यो आयोजना मालीका र धौलागिरी गाउँपालीकाको जलविद्युत विकासका लागि महत्वपूर्ण अवसर भएकाले छिटो अघि बढाउन अनुरोध गर्नुभयो ।

मालीका गाउँपालीका ७ बिमका वडा अध्यक्ष रेशम जुक्जाली र धौलागिरी ४ मुदीका वडा अध्यक्ष बेगप्रसाद घर्तीले प्रभावीत क्षेत्रका बासिन्दाहरुको जायज माग र समस्यालाई समाधान गर्न तथा आयोजना सहज दंगले निर्माण गर्ने वातावरण बनाउन समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रभावीत क्षेत्रका बासिन्दाहरुले अधिग्रहण हुने जग्गाको उचित मुआब्जा र क्षत्तीपुर्ती दिलाउन, समयमै काम अघि बढाउन, रोजगारी तथा लगानीको अवसर दिन, वातावरणीय व्यवस्थापन योजना अन्तरगत विद्यालय, स्वास्थ्य, खानेपानी र पुर्वाधार निर्माणको क्षेत्रमा सघाउन सुझाव दिएका थिए ।

सन्तोष गौतम