नृत्य प्रतियोगितामा बिजेता कृष्टिनालाई जन्मथलोमा भब्य सम्मान (फोटो फिचर/ भिडियाे)

  • १६ फाल्गुन २०७७, आईतवार
  • 2269 पटक पढिएको

 

म्याग्दी १६ फागुन । मेघा एफएमद्धारा पोखरामा आयोजित अल नेपाल गट ट्यालेन्ट नृत्य प्रतियोगितामा बिजेता बन्न सफल रघुगंगा गाउँपालिका–६ कोटगाउँकी कृष्टिना पुन (लिया) लाई भव्य सम्मान गरिएको छ । वडा कार्यालयद्धारा पुनको सम्मानमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदी, वडा अध्यक्ष मनकुमार सेरपुजाले अविर, माला र सम्मानपत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।

सो अवसरमा वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह, युवाक्लब संगै स्थानीयबासीले समेत कलाकार पुनलाई सम्मान गर्नुभएको थियो । बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययरत १३ बर्षिय पुनले पहिलो चरणमा भाग लिएका ३४६ जनामा प्रतिस्पर्धा गर्दै नृत्य प्रतियोगिताको उपाधी हात पार्नुभएको थियो । प्रतियोगितामा प्रथम हुँदै नगद रु ३० हजार, ताज र प्रमाणपत्र सहित पुरस्कृत पुनको स्वागतमा आयोजित कार्यक्रममा कालकार पुन सहित वडा नम्बर ६ का विभिन्न स्थानमा रहेका विद्यालय, आमा समुह र युवा क्लबहरुले समेत नृत्य प्रस्तुत गरेका थिए ।


सो अवसरमा पुरस्कृत बालिका पुनले आफ्नो पुरस्कारबाट प्राप्त भएको नगद रु ३० हजारमा थप १० हजार जुटाएर वडा नम्बर ६ का विपन्न परिवारका १६ जनालाई फाइबरको सिरक वितरण गर्नुभएको थियो । पुन र उहाँकी हजुरआमा डिलमायाँ पुनले वडाका जनप्रतिनिधिले सिफारिस गरेका व्यक्तिहरुलाई उक्त सामान वितरण गर्नुभएको थियो ।


कार्यक्रममा पुनलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले कला, संगीत र साहित्य समाजको महत्वपूर्ण अंग रहेको बताउँदै सानै उमेरमा प्राप्त उपलब्धीलाई निरन्तरता दिन सुझाब दिनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिलिजा, प्रमुख प्रशासकिय अधिकृत सुवेदी र वडा –६ का अध्यक्ष सेरपुजाले रघुगंगा गाउँपालिका कला र संस्कृतिमा धनि रहेकाले यस क्षेत्रको प्रर्वद्धन, संरक्षण र प्रोस्ताहनमा लागिरहने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा वडा सदस्य लिल बहादुर पुन, मालिका महिला सञ्जालका अध्यक्ष दिपा पुन, स्टार स्पोष्र्ट युथ क्लबका अध्यक्ष सन्तबहादुर पाईजा, स्थानीय गौबहादुर सेरपुजा लगायतले मन्तव्य राख्नुभएको थियो । वडा अध्यक्ष सेरपुजाको अध्यक्षता, सदस्य टेकजित छन्त्यालको स्वागत र युवा क्लबका उत्तम थजालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।