म्याग्दीका नगर र गाउँ कार्यपालीकाले पूर्णता पायो । यस्तो छ ६ तहको नतिजा

  • १९ जेष्ठ २०७४, शुक्रबार
  • 3747 पटक पढिएको

म्याग्दी, १८ जेठ । म्याग्दीका नगर र गाउँ कार्यपालीकाले बिहीबार पूर्णता पाएको छ । बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालीका प्रमुख, उपप्रमुख, गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालीकामा दलित, अल्पसंख्यक र महिला सदस्य चुनेका हुन् ।

म्याग्दीको एक नगरपालिका सहित पाँच गाउँपालिकामा नै नगर र गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । गाउँ तथा नगर कार्य पालिका गठनमा बेनी नगरपालिकामा एमाले र राप्रपाका उम्मेदवार बिजयी भएका छन् भने रघुगंगामा काँग्रेसका उम्मेदवार निर्विरोध बिजयी भएका छन् त्यसैगरि मंगला र धौलागिरीमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन भने अन्नपूर्णमा काँग्रेस र माओवादीका उम्मेदवार बिजयी भएका छन् । त्यसैगरि मालिका गाउँ कार्यपालिकामा भने तिन वटै पार्टी र स्वतन्त्रबाट समेत गरि सहमतीमै गाउँ कार्यपालिकाको गठन गरिएको छ ।

बेनीमा एमाले र राप्रपाका उम्मेदवार बिजयी

बेनी नगर कार्यपालीका सदस्यमा दलित अल्पसंख्यक तर्फ एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचन निर्वाचित हुनुभएको छ । महिला सदस्यमा एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर, दुर्गाकार्की बानिया र टकसरा राना निर्वाचित हुनुभएको छ ।

यसअघिको तालमेललाई निरन्तरता दिएका एमाले र राप्रपा समिकरणका उमेद्वारले ३८ र काँग्रेसका उमेद्वारले १३ मत पाएका थिए । १० वटा वडा रहेको बेनी नगरपालिकामा काँग्रेसले मेयर सहित एक वडा, नेपालेले ८ वडा र स्वतन्त्रले एक वडा वडामा बिजयी भएका थिए भने उपमेयरमा राप्रपा बिजयी भएको थियो ।

अन्नपूर्ण गाउँ कार्यपालिकामा काँग्रेस–माओवादी बिजयी

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ । विहिवार भएको गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरु बिजयी भएका हुन् । दुई दलित वा अल्पसङ्ख्यक र चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा काँग्रेस र माओवादीले तालमेल गरेका थिए । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट नेपाली काँग्रेसका आत्मा तुलाचन र नेकपा माओवादी केन्द्रका थमबहादुर विक रहनुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा नेपाली काँग्रेसकी दिर्जु रन्जिता, पवित्रा खड्का र माओवादी केन्द्रका टेक मायाँ तिलिजा र विष्णु कुमारी दमै बिजयी हुनुभएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित चार वडा वडा काँग्रेसले तिन वटा वडा एमाले र एक वटा वडामा माओवादी केन्द्र विजयी भएका थिए भने नेपाली काँग्रेसका २०, एमालेका १७ र माओवादी केन्द्रका ५ जना मतदाता रहेका थिए ।

मालिकाको सहमतीमा गाउँ कार्यपालिका गठन

मालीका गाउँपालिकाको गाउँ कार्यपालीकाको दलित सदस्यमा नेपाली काँग्रेसका कुलमान पटेल र अल्पसंख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्बीरोध छनौट हुनुभएको छ । महिला सदस्यमा सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपाई र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनित हुनुभएको छ । मालीकामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमती गरेर निर्बीरोध रुपमा कार्यपालीका सदस्य चयन गरेका हुन् ।

धौलागिरीको गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध

धौलागिरी गाउँ कार्यपालीकामा नेकपा एमालेका उमेद्वार निर्बीरोध भएका छन् । दलित अल्पसंख्यकतर्फ रामबहादुर बिक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी बिक र तिलकुमारी केसी चयन हुनुभएको वडा न. ३ का अध्यक्ष पुर्म पुनले जानकारी दिनुभयो । निर्वाचित कार्यपालीका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले बिजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । ७ वटा वडा रहेको धौलागिरीमा प्रमुख र उपप्रमुख सहित ६ वडामा एमाले र एक ÷एक वडामा माओवादी केन्द्र र काँग्रेस बिजयी भएका थिए ।

मंगला गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार सर्वसम्मत

म्याग्दीको मंगला गाउँपालिकामा गाँउ कार्यपालिकाका सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु सर्वसमत रुपमा निर्वाचित भएका छन् । विहिवार भएको गाउँ कार्यपालिका गठनको निर्वाचनमा दलित तथा अल्पसंख्यक तर्फ रत्न बिक र सरदेवी भट्टचन सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरि चार जना महिला सदस्यहरुमा शसिकला फगामी, दिलमाया बिक, सरस्वती उपाध्याय र दिलकुमारी खत्री निर्वाचित भएका छन् । पाँच वटा वडा रहेको मंगला गाउँपालिकामा प्रमुख उपप्रमुख सहित चार वटा वडामा एमाले बिजयी भएको थियो भने एक वडामा माओवादी केन्द्र बिजयी भएको थियो ।

रघुगंगा गाउँपालिकामा काँग्रेसका उम्मेदवार निर्विरोध

रघुगंगा गाउँपालिकामा गाउँ कार्यपालिका गठनको निर्वाचनमा काँग्रेस सर्वसम्मत रुपमा बिजयी भएको छ । गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेसका उम्मेदवारहरुको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् । दुई दलित वा अल्पसङ्ख्यक तर्फ धनमायाँ घताने गोतामे र तोरण दर्जी तथा चार जना महिला सदस्यमा सम्झना परियरा, विष्णुमती पुन, रामकुमारी गोतामे घर्ति र रिति थजाली निर्विरोध बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ८ वटा वडा रहेको रघुगंगा गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित ७ वटा वडामा काँग्रेस बिजयी भएको थियो भने एक वटा वडामा माओवादी केन्द्र र एमालेको प्यानल बिजयी भएको थियो ।