मुख्यमन्त्री कप महिला भलिबलमा बिजेता टोलीलाई बेनीमा भब्य सम्मान( फोटो फिचर)

  • १२ फाल्गुन २०७७, बुधबार
  • 1340 पटक पढिएको

 

 

म्याग्दी १२ फागुन । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगितामा बिजेता बन्न सफल म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा बजारमा खेलाडीहरुको बिजयी उत्सव मनाईएको हो । बाजागाजा सहित बजार परिक्रममा गरि जिसस सभाहलमा खेलाडीहरु संगै खेल प्रशिक्षक र टिम व्यवस्थापकहरुलाई भव्य सम्मान गरिएको थियो ।

मुख्यमन्त्री कप प्रतियोगितामा बिजेता बन्दै म्याग्दीको टोलीले नगद रु २ लाख पुरस्कार हात पारेको थियो । टोलीलाई जिल्ला समन्वय समितिको तर्फबाट नगद रु २० हजार सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतले खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो । बुधवार नै जिल्ला प्रहरी कार्यालयले समेत खेलाडीहरुलाई सम्मान गरेको थियो । कार्यालयको तर्फबाट प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले सम्मानपत्र र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

खेलाडीहरुको सम्मानमा आयोजित सभामा प्रदेश सभा सदस्य केसी, जिसस प्रमुख केसी र प्रजिअ अधिकारीले खेलकुद मार्फत जिल्लाको गरिमा बढाएको भन्दै खेलाडीहरुको प्रसंसा गर्नुभएको थियो । कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले जिल्लामा प्रयाप्त पूर्वाधार र अवसरहरुको सिर्जना नभएपनि भलिबल खेलमा अम्बल खेलाडीहरु उत्पादन हुनु गौरवको बिषय भएको बताउँदै सरोकारवालाहरुले खेल क्षेत्रको विकास र खेलाडीहरुको स्थायीत्वका लागि सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संघका उपाध्यक्ष एवम् भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले जिल्लामा उपयुक्त खेलमैदानहरुको अभाब र खेलाडीहरुलाई प्रतियोगितामा भाग लिनका लागि आर्थिक अभाबलाई समेत व्यवस्थापन गरि खेल प्रतिस्पर्धामा प्राप्त उपलब्धीले जिल्लाको खेल क्षेत्रमा ठुलो योगदान दिएको बताउनुभयो । संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष एवम् प्रशिक्षक बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायब उपरिक्षक राईले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।