मापदण्ड बिपरित उपकरण प्रयोग गरेर बगर उत्खनन्

  • १२ फाल्गुन २०७७, बुधबार
  • 1609 पटक पढिएको

म्याग्दी, १२ फागुन । म्याग्दीको बेनी नगरपालिकाको बगर क्षेत्रमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौता बिपरित हेभी इक्युभमेन्ट (डोजर, एक्साभेटर) प्रयोग गरेर बगरबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा कटानको जोखिमका साथै जैबिक बिबिधतामा असर परेको छ ।

बेनी– जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडक अन्तरगत बेनी नगरपालिकाको वडा न. ६ मा पर्ने ठूलो बगर क्षेत्रमा केही दिनयता एक्साभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् भैरहेको छ । अब्यवस्थित रुपमा एक्साभेटरको प्रयोग गरेर बगर उत्खनन् गर्दा नदी गहिरिने, माछा लगायत जलचरको बासस्थानमा असर पर्ने र नजिकै रहेको सडक कटानको जोखिममा परेको स्थानीयबासीले गुनासो गरेका छन् । जलजला गाउँपालिका–७ मिलनचोकको साहना निर्माण सेवाले बेनी नगरपालिकासंग ठुलोबगर स्थित कालीगण्डकी बगरमा नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि २०७७ फागुन ५ गते बेनी नगरपालिकासँग रु. दुई लाख २५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

सोही कम्पनीले बेनी नगरपालिका–९ मा पर्ने गलेश्वर–मजुवाको बगरमा उत्खनन् र निकासीका लागि रु. सात लाख एक हजारमा ठेक्का लिएको छ । बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले नदीजन्य बस्तु उत्खनन्मा हेभी इक्युभमेन्ट प्रयोग गर्ने सम्झौता नभएको बताउनुभयो ।राहुघाट र कालीगण्डकी नदीले कटान गरेको राममन्दिरको संरक्षणका लागि नदीको धार परिवर्तन गराउन जिल्ला विपद् ब्यवस्थापन समितिले गरेको आग्रह अनुसार मजुवा–गलेश्वरको बगरमा हेभी इक्युभमेन्ट प्रयोग गर्न दिने नदिने भन्ने बिषयमा जलजला र रघुगंगाका प्राबिधिकसँग छलफलको चरणमा रहेको कार्कीले बताउनुभयो ।

साहना निर्माण सेवाका सञ्चालक शिव जिसीले मजदुर लगाएर उत्खनन् गर्दा सम्भव नहुने भएकाले बिकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको सहज आपुर्तिका लागि सरोकारवालाको मौखिक सहमतिमा उत्खनन्मा उपकरण प्रयोग गरेको बताउनुभयो ।“उत्खनन्मा उपकरण प्रयोग नगर्ने भन्ने कही उल्लेख छैन,” उहाँले भन्नुभयो “मजदुर लगाएर निकालेको बालुवा, गिट्टी र ढुङ्गाले यत्रा बिकास आयोजनालाई आवश्यक पर्ने सामान पु¥याउन सकिदैन् ।”

नदीजन्य बस्तुको उत्खनन् नियमनका लागि जिल्ला स्तरमा रहेको अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उपकरण प्रयोग गरेर उत्खनन् भएको सम्बन्धी सूचना नआएको बताउनुभयो । सम्झौता र इआइ प्रतिवेदन बिपरित नदी बगर उत्खनन्मा उपकरण प्रयोग गरेको भेटिएमा कारबाही गरिने उहाँले बताउनुभयो ।

नदी किनारमा नियम विपरित बालुवा उत्खननमा प्रयाेग गरिएका मेसिन उपकरण ।  तस्बीर म्याग्दी अनलाइन डटकम