प्रतिनिधिसभा विघटनबारे अदालतको फैसला कुर्नु नै उत्तमः राष्ट्रिय सभा अध्यक्ष तिमल्सीना (तस्बीर/भिडियाे)

  • २४ माघ २०७७, शनिबार
  • 1487 पटक पढिएको

 

 

बेनी, २४ माघ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालनको फैसलालाई आत्मसाथ गरि अघि बढ्नुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २७ औँ बार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनको शनिवार बेनीमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा राख्नुभएको हो ।

उहाँले उक्त विषयमा अदालतमा बहस भैरहेकाले अदालतले गर्ने फैसलालाई धैर्यतापूर्वक कुर्नुपर्ने र सोही बमोजिम मुलुकको स्वायित्वका लागि दलहरु केन्द्रित हुनुपर्ने बताउनुभयो । ‘‘ अदालतले बदर गरे संसद पुर्नस्थापना हुन्छ, अदालतले सदर गरे चुनाबतिर जाने हो, बरु चुनाब हुन्छ कि हुँदैन भन्ने होइन, घोषणा गरेको चुनाबै हुनैपर्छ भनेर दबाब दिउँ’’–तिमिल्सिनाले भन्नुभयो ।

अदालतबाट हुने फैसला आफ्नो पक्षमा भए मान्ने र अर्को पक्षमा भए नमान्ने भन्नेतर्फ कोहि पनी लाग्न नहुने बताउँदै उहाँले आफ्ना कुरा राख्न भेला, सभा सम्मेलनहरु स्वभाविक रहेपनि मुठभेड निम्तने र जनतालाई दुख दिने खालका गतिविधि नगर्न दलहरुलाई आग्रह गर्नुभयो । मुलुकमा राजनैतीक व्यवस्था परिवर्तन र संविधान निर्माणमा ठुलो संघर्ष र बलिदानी भएको बताउँदै उहाँले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन समेत दलहरुको विकल्प अरु हुन नसक्ने जिकिर गर्नुभयो ।

‘‘ कहिँकतै सुनिन्छ हिन्दुराष्ट्र घोषणा हुन्छरे, मुलुकमा फेरी राजा ल्याउछनरे, तर त्यो सम्भव छैन, एक जना व्यक्तिले घोषणा गर्दैमा यि कुराहरु सम्भव छैनन्, दुई तिहाई नभएसम्म संविधान संसोधन नै हुँदैन’’–उहाँले भन्नुभयो । संविधानमा जनताका अधिकार सुनिश्चित भएकाले अब मुलुकमा स्थिरता, शुसासन र न्याय नै जनताको चाहना रहेकाले दलहरुले समेत त्यसलाई ध्यानमा राख्नुपर्ने उहाँको भनाई थियो ।

नेकपाभित्रको विवादलाई संकेत गर्दै अध्यक्ष तिमिल्सिनाले जनताले ५ बर्षका लागि मत दिएपनि आन्तरिक कलहले जनताको अभिमतप्रति कुठराघात भएको बताउनुभयो । उहाँले मुलुकमा उद्योग र उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउँदै सरकारले समेत लगानीमैत्री वातावरण तयार गर्न झण्झटीला नीति, नियम र व्यवस्थालाई परिमार्जन गर्नतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पत्रकारद्धय सन्तोष गौतम र हरिकृष्ण गौतमलाई म्याग्दी भ्रमण बर्ष बनाउने क्रममा सञ्चार क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै संघले जनही नगद रु २५ हजारको साथमा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरि संघले व्यापार, उद्योग र उत्पादनका क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा सांसद, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी , व्यवसायि, प्रशासन लगायतका क्षेत्रका प्रतिनिधिहरुले समेत सम्बोधन गर्नुभएको थियो । संघको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।