दग्नामको भुमे पुजाः भुमे देवतालाई खुसी बनाउन लिंगो जुधाई ! (फोटो फिचर)

  • १७ जेष्ठ २०७४, बुधबार
  • 5154 पटक पढिएको

म्याग्दी, १६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा परम्परागत रुपमा गरिँदै आईएको भुमेथानमा लिंगो जुधाई प्रतियोगिताले यस बर्षपनि निरन्तरता पाएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न गरिएको हो ।

दग्नाममा विगत लामो समयदेखीको ईतिहाँस बोकेको लिङ्गो जुधाउने प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागीता जनाउने गरेका छन् । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएको अग्ला बाँसको लिङ्गो बोकेर बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराईएको थियो ।

स्थानिय पुख्यौली गित, नृत्य, पञ्चेवाजाको रमाईलो उत्सवका विच स्थानियले मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागी लिङ्गो जुधाएका हुन् ।

अग्ला अग्ला सिंगारिएका लिङ्गाहरुलाई प्रतिस्पर्धामा ल्याएकोमा यो बर्ष दुवै लिङ्गो बरावर अग्लो भएको कारण दुवै गाउँ विजयी भएको एकता युवा क्लब दग्नामका अध्यक्ष गुन पुन गुञ्जनले जानकारी दिनुभयो । गत बर्षपनि दुबै गाउँको लिङ्गो जुधाई बराबरी नै भएको थियो ।

लिंगो जुधाईलाई रमाईलो संगै गाउँको प्रतिष्ठालाई जोडीएर हेर्ने भएकाले दुवै गाउँका स्थानियले निकै मेहेनत गरि अग्ला लिङ्गो सिंगारेर प्रतिस्पर्धामा लैजाने चलन रहेको छ ।

जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेष्ठ महिनाको पहिलो वा दोस्रो साताको मंगलवारको दिन बर्षभरिको खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस, स्थानियबासीको सु–स्वास्थ्यको कामना गर्दै पुर्खौदेखी भुमे देवताको पुजा गर्दै आएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताउनुभयो ।

भुमे देवतालाई जती खुसी बनाउन सकिन्छ, त्यती नै प्रकृतिले साथ दिने भएकाले पहिलेदेखीनै गाउँमा भुमे पुजा पर्वको अवसरमा स्थानिय दुई गाउँविचमा लिङ्गो जुधाउने प्रतिस्पर्धा हुन थालेको उहाँको भनाई छ । दग्नामबासीको महत्वपुर्ण पर्व भएकाले भुमे पुजा पर्व मनाउन देश तथा विदेशमा रहेका स्थानियबासी समेत घर फर्कने हुँदा यो पर्वले आफन्तहरुको जमघट गराउने महत्वपुर्ण माध्ययम बनेको स्थानीयबासी बताउँछन् ।

भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा, खोला र मण्डलीको पुजाआजा गरेका छन् । यसैविच मंगलवारदेखी एकता युवा क्लब दग्नामको आयोजनामा भुमे पुजाको अवसरमा विविध खेलकुद तथा साँस्कृतिक मेला समेत सुरु भएको छ । मेलामा पुरुष बास्केटवल, भलिवल, महिला भलिबल, लगायत विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ ।