कप्तान अरुणा शाहीलाई गण्डकी प्रदेशद्वारा १ लाख नगद सहित सम्मान

  • ३ माघ २०७७, शनिबार
  • 1825 पटक पढिएको

पोखरा, ३ माघ । नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी शाहीलाई गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान स्वरुप नगद १ लाख प्रदान गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले नगद १ लाखको चेक अरुणालाई प्रदान गरेकी छन । सो अवसरमा वोल्दै सामाजिक विकास मन्त्री पुनले अरुणालाई वधाई दिंदै मन्त्रालय प्रदेश खेलकुदको विकासका लागि प्रतिवद्ध भएको बताइन ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालाको संरक्षण गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने बताउँदै मन्त्री पुनले प्रदेश खेलकुद समितीको गठन पछि त्यसलाई अझै तिव्रता दिने बताईन । सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले व्यक्तिगत रुपमा अरुणालाई नगद ११ हजार सहयोग गर्दै खेलाडीको हितका लागि अगाडी वढ्नुपर्ने बताए । उनले पोखरामा हुने नवौं खेलकुदको तयारीका लागि जुट्न आग्रह गर्दै पोखरामा अरुणा जस्ता खेलाडी उत्पादन गर्ने विद्यालयको योगदानलाई विर्सन नहुने बताए ।


यसै गरि अरुणा शाही जिताउ अभियान अन्तर्गत वचत रकम समेत अरुणालाई हस्तान्तरण गरिएको छ । अभियान अन्तर्गत वचत रकम ३ लाख ७३ हजार ७ सय ५ रुपैयाँ र प्रदेश सरकारको प्रोत्सहान वापत प्राप्त नगद १ लाख सहित ४ लाख ७३ हजार ७ सय ५ रुपैयाँ अरुणालाई हस्तान्तरण गरिएको हो । अभियान अन्तर्गत संकलित रकमको आय–व्यय प्रस्तुत गर्दै नेपाल भलिवल संघका सल्लाहकार एवम पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्माले अभियान अन्तर्गत भएको भलिवल प्रतियोगितामा टिकट विक्रिबाट २ लाख ५३ हजार गरि कुल १६ लाख ७३ हजार सात सय पाँच रुपैयाँ संकलन भएको जानकारी दिए ।

अभियान अन्तर्गत ई–सेवा भोटिङका लागि १० लाख, भलिवल खेल व्यवस्थापनका लागि २ लाख ७० हजार र अन्य खर्च गरि कूल १३ लाख खर्च गरिएको जानकारी दिंदै सल्लाहकार शर्माले अरुणालाई जिताउन प्रतिवद्धता भएको रकम ८१ हजार ७ सय ५ रुपैयाँ संकलन हुन वाँकी रहेको बताए । सल्लाहकार शर्माले अरुणालाई जिताउन देश विदेशबाट सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गरेका छन । कार्यक्रममा अरुणाले पल्सर स्पोर्टस अवार्ड जस्तो गरिमा बोकेको अवार्ड जिताउन सबैले खेलेको भूमिका र सद्भावका लागि आभार व्यक्त गर्दै यो जितले आफूलाई अझै जिम्मेवारी वोध गरेको बताइन ।