म्याग्दीमा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही जिताउ अभियान सुरु

  • १६ पुष २०७७, बिहीबार
  • 2259 पटक पढिएको

म्याग्दी,१६ पुस । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन बिहिबारदेखि घरदैलो सहित अभियानको सुरुवात गरेको हो ।


रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएको थियो ।


भलिबल संघ म्याग्दीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, भलिबल खेलाडी एवम् प्रशिक्षक तेजेन्द्र बानियाँले अरुणाको भलिबलमा प्राप्त सफलताले म्याग्दीको गरिमा समेत उच्च भएको बताउँदै अवार्ड विजेता बनाउन अपिल गरेका छन् । मनोनयनमा परेका खेलाडीलाई ई–सेवामार्फत एसएमएम भोटिङ, फेसबुक लाइक, खेलकुद मञ्चका सदस्यको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता छनोट गरिनेछ।
भोटिङका लागि ई–सेवाको एप डाउनलोड गरी खेलाडीको प्रोफाइलमा गएर भोट गर्न सकिने मञ्चले जनाएको छ । भोटिङलाइन पुस २७ गते राति १२ः०० बजेसम्म खुला रहने छ। यसैबीच सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी शाहीले मनोनयनमा परेपछि स्वदेश तथा विदेशमा रहेका भलिबलका शुभचिन्तकलाई सहयोग गर्न अपिल गरेकी छन् ।