विभिन्न निर्णय गर्दै मोना युएईको बैठक सम्पन्न

  • १४ पुष २०७७, मंगलवार
  • 1815 पटक पढिएको

म्याग्दी, १४ पुष । म्याग्दी प्रवासी नेपाली संघ (माेना) युएईले विभिन्न निर्णयहरु पारित गर्दै पहिलो बैठक मंगलबार सम्पन्न गरेको छ । तेस्रो अधिबेशनबाट २०२० देखि २०२२ का लागि निर्वाचित अध्यक्ष सुवास राम्जाली मगरको अध्यक्षतामा अनलाईनबाट भएकोे बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ।


कार्यसमितिको प्रथम बैठकमा २०१८ देखि २०२० सम्म भएको गतिविधिको तथा आम्दानी खर्चको समिक्षा, पत्रकार सम्मान, संरक्षक तथा सल्लाकार र सदस्य मनोनित, सदस्यता वितरण आगामी कार्ययोजना सम्वन्धी विषयमा निर्णय गर्दै बैठक सम्पन्न भएको अध्यक्ष राम्जालीले जानकारी दिए । संस्थाले हरेक बर्ष जिल्लामा बसेर पत्रकारीता गर्ने दुईजना पत्रकारलाई सम्म्मान गर्ने निर्णय गर्दै यसवर्ष म्याग्दी अनलाईनका सम्पादक कमल खत्री र पत्रकार धिरन खत्रीलाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गर्ने निर्णय भएको अध्यक्ष राम्जालीले बताए ।

बैठकबाट २०२० देखि २०२२ को कार्यसमितिलाई पूर्णता दिलाउन प्रदिप गर्वुजा, चन्द्रबहादुर पुन, शर्मिला कार्की, दिलबहादर राम्जाली मगरलाई समितिमा मनोनित गरेको महासचिवमा काजीमान बुढाथोकीले जानकारी दिए । त्यस्तै प्रमुख सल्लाकारमा रुद्र रोकामगर र सल्लाकारमा विक्रम अधिकारी र बेल फगामीलाई चयन गरेका छन् ।

मोना आईईसी महिला बिभागमा महिला सदस्य पदको लागि मोना युएईबाट पार्वती अर्मजा (सोनु पुन) लाई पठाउने प्रस्ताव गरेको छ । त्यस्तै संस्थालाई बलियो बनाउन नयाँ कार्यसमितिले सदस्यता बितरणलाई बृहत् रुपमा अघि बढाउने निर्णय गरिएको अध्यक्ष राम्जालीले बताउदै युएईमा रहेका म्याग्देलीहरुलाई अनलाईनमार्फत सदस्यता लिन आग्रह गरेका छन् ।

उनले कोरोनाको कारण सामान्य वातावरण नुहदाँसम्म हरेक महिनाको पहिलो हप्ताभित्र अनलाईन मार्फत बैठक बस्ने निर्णय गरिएको बताए । बैठकमा मोना युएईका संरक्षकहरु सुशिल केसी, संस्थापक अध्यक्ष प्रदिप सुवेदी, प्रकाश कार्की, नन्दप्रसाद गर्बुजा र कार्यसमिति सदस्यहरुको उपस्थितमा प्रथम बैठक सम्पन्न भएको छ ।

कोरोनाको समयमा अनलाईन भर्चुअल जुममार्फत साधारण सभा तथा अधिवेशन गर्दै अन्य मुलुकमा अनलाईन बैठकबाट संस्थालाई अघि बढाउन सकिन्छ भन्ने उदाहरण युएईले पेश गरेको छ । रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लामा हुने बाढी पहिरोबाट पीडित र विरामीहरुको उपचारमा आर्थिक सहयोग गरिरहेका छन् ।