बेनीमा रेडियो पत्रकारीता तथा उदघोषण तालिम सुरु

  • १५ जेष्ठ २०७४, सोमबार
  • 2077 पटक पढिएको

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दीकाली सहकारी सञ्चार सहकारीद्धारा सञ्चालित म्याग्दीकाली एफ.एम.को आयोजनामा सोमबारदेखि रेडियो पत्रकारीता तथा उदघोषण कला तालिम सुरु भएको छ । एक साता सम्म सञ्चालन हुने तालिमको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख साधनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला हुलाक अधिकृत श्रेष्ठले तालिमले सहभागीहरुलाई सञ्चार क्षेत्रको बारेमा जानकारी दिँदै पत्रकारीता क्षेत्रमा प्रवेशको लागि मार्गदर्शन बन्ने बताउनुभयो । उहाँले मेहनतले मात्रै हरेक क्षेत्रमा सफलता मिल्ने बताउँदै तालिममा प्रशिक्षकहरुबाट सञ्चार क्षेत्रबारे उल्लेखनीय ज्ञान, शिप र क्षमताको अभिवृद्धि गराउन सहभागिहरुलाई सुझाब दिनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले तालिमले म्याग्दीका पत्रकारीता क्षेत्रमा जनशक्ति थप गर्न सहयोग पुग्ने बताउँदै आफुलाई क्षमतावान र सक्षम बनाउन सहभागीले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कार्यक्रममा म्याग्दीकाली एफ.एम.का सम्पादक सुरत केसी, प्रेस युनियन म्याग्दीका सभापती गोपाल छन्त्याल, प्रेस चौतारी म्याग्दीका अध्यक्ष मालती खत्री, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा म्याग्दीकाली एम.एम.व्यवस्थापन उपसमितिका संयोजक सुविन श्रेष्ठले स्वागत गर्दै तालिममा सहभागिहरु मध्ये उत्कृष्ट हुनेलाई रेडियोमा रोजगारिको अबसर समेत दिइने जानकारी दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन एफ.एम.का स्टेशन म्यानेजर अमित विश्वकर्माले गर्नुभएको थियो । विभिन्न क्षेत्रका २६ जनाले सहभागिता जनाएको तालिममा विभिन्न संचार माध्ययमा सक्रिय सञ्चारकर्मी तथा पत्रकारहरुद्धारा प्रशिक्षण दिईने जनाईएको छ ।