आज देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिँदै

  • १५ मंसिर २०७७, सोमबार
  • 1825 पटक पढिएको

काठमाण्डौ १५ मंसिर । नेपाल सरकारले देशभरका स्थानीय तहमा आधारभुत अस्पतालको पहुँच पु¥याउन महत्वपूर्ण योजना अघि सारेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । ५, १० र १५ शैयाँ अस्पताल निर्माण गर्न सरकारले देशभर एकैपटक शिलान्यास कार्यक्रम तय गरेको हो ।

अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय नौ र १५ शय्याका ३५ अस्पताल बनाइनेछन् । दुई वर्षभित्र सबै अस्पताल निर्माण गरेर सञ्चालन गरिसक्ने सरकारको योजना छ ।

संघीय मामिला मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीका अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान छ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ ।

सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण गरिनेछन् । त्यस्तै, लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बनाइनेछ । सोमबार नै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारको तयारी छ ।

संघीय सरकारको सहयोगमा स्थानीय तहले नै अस्पताल निर्माण तथा सञ्चालन गर्नेछन । आवश्यक जनशक्तिको मापदण्ड पनि तयार भइसकेको छ । पाँच शय्याको अस्पतालमा एकजना मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुईजना मेडिकल अफिसरसहित १७ जना र १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् ।