बेनीमा गणतन्त्र दिवस मनाइयो

  • १५ जेष्ठ २०७४, सोमबार
  • सन्तोष गौतम
  • 3707 पटक पढिएको

बेनी, १५ जेठ । बेनीमा सोमबार विभिन्न कार्यक्रम गरेर दसौ गणतन्त्र दिवस २०७४ मनाइएको छ ।   वि.स २०६५ जेठ १५ गते संबिधानसभाले नेपालमा गणतन्त्र स्थापना भएको घोषणा गरेको दिनको स्मरण गर्दै दिवस मनाइएको हो । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा बेनीमा प्रभातफेरी र समारोह गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड क्याम्पसचोक गणेशटोल संगमचोक बालमन्दिर चोक हुदै बेनी सामुदायीक मावि परिसरमा पुगेर औपचारीक समारोहमा परिणत भएको थियो ।

¥यालीमा बेनी नगरपालीकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मन्तब्य व्यक्त गर्दै जिल्ला न्यायाधिश रामप्रसाद शर्माले गणतन्त्र मार्फत जनताको अपेक्षा र चाहनालाई पुरा गर्न अब सबैले आचरण र ब्यवहार सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

स्थानीय विकास अधिकारी प्रेमराज गिरीले संघिय व्यवस्थाको दिगोपनाका लागि अब स्थानीय स्रोत साधनको पहिचान र परिचालनमा ध्यान दिनुपर्ने बताउनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सञ्जु बरुवालले स्थानीय तहको निर्वाचनसंगै देश संबिधान कार्यान्वयन, गणतन्त्रको संस्थागत विकास र सम्बृद्धीको बाटोमा अघि बढेको बिचार व्यक्त गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलले गणतन्त्रलाई संस्थागत गर्न राजनितिक र प्रशासनीक क्षेत्रमा जिम्मेवारी, ईमानदारीता र प्रतिवद्धताको आवश्यकता औल्याउनुभयो । राजनितिक दलहरुको तर्फबाट मन्तब्य व्यक्त गर्नुहुदै पूर्व सांसद तथा नेकपा माओवादी केन्द्रका गोविन्द पौडेलले संघिय गणतन्त्रात्मक व्यवस्थाले सिहंदरबारमा केन्द्रित अधिकार, सेवा र सुबिधा गाउँ नगरमा ल्याएको बताउनुभयो ।

स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षता र जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक संघ संस्थाहरुको तर्फबाट मन्तब्य व्यक्त गर्दै नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्माले गणतन्त्रको सुदृढीकरणका लागि पारदर्शीता, जवाफदेहीता र शुसासनमा जोड दिनुभयो ।

सन्तोष गौतम