भूमिगत पहिरोले फगाम गाउँमा उठीबास (तस्बिर/भिडियो)

  • २६ भाद्र २०७७, शुक्रबार
  • कमल खत्री
  • 1343 पटक पढिएको

कमल खत्री
बेनी, २६ भदौ । अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ बर्षिय लालमती थापा दुई सातादेखि अस्थायी टहरामा सर्नुभएको छ । गाउँदेखि तलबाट भूमिगत पहिरोले घर चिरा पर्ने र जमिन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापा संगै फगाम गाउँका १७ घरपरिवारको पहिरोले उठीबास लगाइसकेको छ ।

साउनदेखि नै गाउँमा स्थानीयको उठीबास सुरु भएको थियो । ‘‘ घरमा बस्न सक्ने अबस्था छैन, खेति गरेको जमिन सबै बग्न थालेको छ, रातमा पानी प¥यो भने बस्ने ठाउँसम्मै चिसो आउँछ, अब कहाँ गएर ज्यान जोगाउने हो सोच्नै सकेका छैनौँ’’–थापाले भन्नुभयो ।


७४ घरधुरीको बसोबास रहेको यो गाउँ पूर्ण रुपमा पहिरोको उच्च जोखिममा परेको स्थानीयबासी दुर्गादक्त सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार १७ घर पूर्ण रुपमा विस्थापित भैसकेका छन् । पहिरोको कारण थप ९ घर उच्च जोखिममा र ३८ घरमा सामान्य क्षति पु¥याएको सुवेदीले बताउनुभयो ।


कालिगण्डकी नदीको कटान र बेनी–जोमसोम सडकखण्डको कारण चलेको भुमिगत पहिरोले नदीको किनारदेखि बस्तीदेखि माथिको भिरसम्मकै अधिकाँश जमिन धाँजा परेर चिरिएको छ भने घरहरु चर्किएर भत्कने अबस्थामा पुगेका छन् । घर भत्कने अबस्थामा पुगेपछि नजीकका स्थानमा आश्रय लिनुपर्ने अबस्था आएको वडा सदस्य समेत रहेकी स्थानीय योमायाँ पाईजाले जानकारी दिनुभयो ।


‘‘नदिले हरेक बर्ष कडान गरिरहेको छ, सडकले पहिरो नियन्त्रण गर्न कुनै पूर्वाधार बनाएको छैन, अहिलेत गाउँ नै उठीबास हुने अबस्था आयो’’–उहाँले भन्नुभयो । यस गाउँमा विगत एक दशक अघिको पहिरोले ६ परिवार विस्थापित भएका थिए ।
                                 विस्थापितहरु अस्थायी आश्रय खोज्दै
पहिरोले विस्थापित भएकाहरुमध्ये केहिले छिमेकी गाउँ सुवामा रहेको विद्यालयमा आश्रय लिएका छन् भमायाँ राम्जाली, तिलक थापा, बिलमन थापा, टुकमायाँ थापा, ओमप्रसाद थापा र कमली मिजार गरि ६ घरपरिवार सुवा आधारभुत विद्यालयमा आश्रय लिएर बसेको विद्यालयका शिक्षक समेत रहेका पहिरो पीडित तिलक थापाले जानकारी दिए । उनका अनुसार, नरबहादुर थापा, ओममायाँ थापा र ठकबहादुर गर्वुजाको परिवार गाउँकै पैयुपाटामा त्रिपालको छाप्रो बनाएर बसेका छन् ।

नरमान थापाको परिवार सुवामा, सन्तु वरुवाल र राजु विक छिमेकी वडा नारच्याङको पटारमा र रिता थापाको परिवार गम्फुमा आफन्तको घरमा आश्रय लिन पुगेका छन् । कर्णबहादुर नेपाली र देउमायाँ मिजारको परिवार गुँइठेमा आश्रय लिन गएका छन् । वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाका अनुसार, फगाम गाउँ पूर्ण रुपमा पहिरोको चपेटामा छ । बस्तीदेखि तलबाट भुमिगत रुपमा चलेको पहिरो गाउँको शिरमा रहेको भिरसम्मै पुगेको र जमिन फाट्ने र घर चिरिने समस्या बढीरहेकाले फगामलाई स्थानान्तरणको लागि आबश्यक तयारी सुरु भएको उहाँले जानकारी दिनुभयो ।

                                  अन्नपूर्णका पहिरो पीडितलाई बस्ती स्थानान्तरणको पहल
यस बर्ष बाढी पहिरोले फगाम सहित अन्नपूर्णमा ठुलो क्षति पु¥याएको छ । बाढी र पहिरोले दुई जनाको ज्यान जानुको साथै १३५ घर पूर्ण रुपमा विस्थापित भएका छन् । बाढी र पहिरोले वडा नम्बर १ दोबामा १० घर, २ नम्बर वडा तातोपानीमा २१ घर, ३ नम्बर वडा दानामा ५५ घर , ४ नम्बर वडा नारच्याङमा १२ घर, वडा नम्बर ५ शिखमा ५ घर, वडा नम्बर ६ घारामा ९ घर र वडा नम्बर ७ हिस्तानमा २३ घरपरिवार विस्थापित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो ।

बाढी पीडितलाई तत्कालको लागि राहत संगै दिर्घकालिन रुपमा आवासको ब्यवस्थापनको लागि प्रदेश र संघिय सरकार संग पहल गरिने गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । बाढी र पहिरोको चपेटामा परेका अधिकाँश स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको भएपनि उपयुक्त जग्गाको बन्दोबस्त चुनौतिको रुपमा देखिएको छ ।
                                                               संघ र प्रदेशमा पहल गरिने
अन्नपूर्ण क्षेत्रमा गएको पहिरोको स्थलगत अवलोकन गर्दै प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पुर्नस्थापनाको लागि स्थानीय वडा र पालिकाले जग्गा व्यवस्थापन गरे संघिय सरकार मार्फत आवास पुननिर्माणमा पहल गर्ने बताउनुभयो ।

‘‘ यहाँको अधिकाँश जमिन चिराचिरा परेको रहेछ, धेरैले घर छाडेर अन्यत्र जानुभएको पाइयो, यो बर्ष सरकारले ४ सय वटा जोखिमपूर्ण बस्तीलाई सार्ने योजना अघि सारेको छ, त्यस कार्यक्रममा फगामलाई समेट्न अधिक प्रयास रहन्छ,’’– थापाले भन्नुभयो । त्यसैगरि प्रदेश सभा सदस्य विनोद केसी र जिसस प्रमुख देवेन्द्रबहादुर केसीले पहिरोको जोखिममा रात विताउँदै आएका स्थानीयलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गर्दै बस्तीलाई सुरक्षित स्थानमा सार्न आबश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l