मंगलाघाटमा बाढीको बितण्डा : एकदर्जन घरहरुमा क्षति

  • ३१ श्रावण २०७७, शनिबार
  • धिरन खत्री
  • 1255 पटक पढिएको

म्याग्दी ३१ साउन । बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा शुक्रबार राती अविरल बर्षासंगै माथिबाट आएको बाढीले एकदर्जन घरसहित विभिन्न पुर्वाधारमा जोखिम बढाएको छ । बेनी–अर्थुङ्गे सडकको भल कुरिलाखर्क र आँपरुख खण्डमा खसेको पहिरोमा मिसिएर मंगलाघाटमा निजी घर, खानेपानी आयोजना, धार्मिक स्थल महारानी थान, सत्यसाइकेन्द्र, खेलमैदान र सडकमा क्षतिसंगै जोखिम बढाएको छ ।

 

जिल्ला सदरमुकाम बेनी बजारको पश्चिमी भागमा अवस्थित मंगलाघाटका बासिन्दा बाढीको त्रासका कारण रातभर जाग्राम बसेका थिए ।बबुल केसी, रुद्रबहादुर सुनार याममाया पुन, चित्रकुमारी गौचन, हिक्मत शेरचन, राजु केसीको घर र संचालित पसलभित्र बाढी पसेर सामान नष्ट गरेको छ ।


मंगलघाटमा रहेको मोटर पाट्र्स एण्ड वर्कसप उद्योगको टहरा, खेलमैदान, शौचायय र ग्यारेज बाढीले पुरिएको छ । हिक्मत शेरचनको पलाइउड उद्योगमा बाढी पसेर ३०० गोटा पलाइउड नष्ट हुँदा रु. पाँच लाख बढीको क्षति भएको छ । महारानी थानको डिलको पर्खाल भत्कीएर मंगलाघाट स्थित नगरप्रमुख हरिकुमार श्रेष्ठको बारी पुरिएको छ । दूधेखोलाबाट पानी ल्याउने बेनी खानेपानी उपभोक्ता संस्थाको पाइप पहिरो र बाढीले बगाएको छ ।


महारानीथानको पहिरोले बेनी–अर्थुङ्गे हुदै पाखापानी जोड्ने र मंगलाघाटको पहिरोले मंगला, मालिका र धवलागिरी गाउपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनाएको छ ।महारानीथान देखि अग्नीखेत जोड्ने सडकको डिलमा लगाइएको पर्खाल चर्कीएपछि उपल्लो मंगलाघाटका करिब १५ घर जोखिममा परेका छन् ।
नगरपालिका मेयर हरीकुमार श्रेष्ठले पहिलो चरणमा बाढी पन्छाउने र बस्ती संरक्षणका लागि दिगो रुपमा गर्न सकिने योजनाहरु नगरपालिकामा छलफल गर्ने बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l