धौलागिरी गाउँपालिकाका जनप्रतिनिधीले पदभार सम्हाले

  • ६ जेष्ठ २०७४, शनिबार
  • सन्तोष गौतम
  • 3820 पटक पढिएको

म्याग्दी, ६ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । साथै अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले मुना स्थित गाउँपालीका कार्यालयमा पदभार समेत ग्रहण गर्नुभएको छ । निर्वाचन अधिकृत गणेशबहादुर अधिकारीले गाउँपालीका अध्यक्ष, उपाध्यक्ष र ७ वटै वडाका अध्यक्षहरुलाई सपथ खुवाउनुभएको थियो ।

बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट अध्यक्षमा थमसरा पुन, उपाध्यक्षमा रेशम छन्त्याल, वडा न. १ गुर्जामा झकबहादुर छन्त्याल, २ लुलाङमा गमबहादुर बिक, ३ मा पुर्म पुन, ४ मा बेगप्रसाद घर्ती, ५ मा खर्ककुमारी छन्त्याल, ६ मा राजाराज सुवेदी र ७ मा कलानिधी सुवेदी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

वडा सदस्यहरुलाई भने वडा अध्यक्षले सपथ खुवाउने व्यवस्था छ । पदभार ग्रहण गरेपछी नवनिर्वाचित अध्यक्ष पुनले धौलागिरी गाउँपालीकाको सबै बस्तीमा विकासको पहुँच पुर्‍याउने, सहज सेवा सुबिधा प्रवाह, कृषि, पर्यटन, जलविद्युत, जडिवुटी मार्फत सम्बृद्धी हाँसील गर्न प्राथमिकता दिने बताउनुभयो ।

उहाँले सबै पक्ष एकजुट भएर गाउँपालीकाको विकासमा लाग्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत सेवा सुबिधामा भौगोलिक रुपमा बिकट धौलागिरी बासीको पहुँच स्थापीत गराउनुका साथै सामाजिक विकासमा समेत जोड दिनुपर्ने उहाँको भनाई थियो । धौलागिरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित पुन स्थानीय तहको प्रमुखमा पदमा पुग्ने जिल्लाकै एक्ली महिला हुनुहुन्थ्यो ।

सन्तोष गौतम