गिट्टी कुटेर गुजारा चलाउदै विपन्न समुदाय

  • २ जेष्ठ २०७७, शुक्रबार
  • 2193 पटक पढिएको

 

म्याग्दी, २ जेठ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण नियमित रोजगारी गुमेपछि म्याग्दीका विपन्न समुदायले विकल्प खोज्न थालेका छन् । नदी किनारका बगर र बस्ति नजिकका ढाँडमा ढुङ्गा संकलन तथा गिट्टी फुटाएर जिवन गुजारा चलाउन थालेका हुन् ।

स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोतलाई जिविकोपार्जनको माध्यम बनाउन थालेका छन । धवलागिरी गाउपालिका–७ हिलापोखरीका बासिन्दाले गुजार चलाउन गिट्टी कुट्न थालेका स्थानीय नैने परियारले बताउनुभयो । “कोरोनाको त्रास र लकडाउनका कारण गाउबाहिर गएर काम गर्न जान पाएको छैन्,” उहाले भन्नुभयो “बिहान बेलुकी हातमुख जोर्नका लागि गिट्टी कुट्न थालेका छौ ।” उहाका परिवारका चार जनाले गाउ नजिकैको रानीबनमा एक महिनायता गिट्टी कुट्दै आएका छन् ।

हिलापोखरी स्थित ढमाहढुङ्गाको ढाँड विपन्न समुदायको जिविकोपार्जनको आधार बनेको छ । लकडाउन सुरु भएयता स्थानीयले ढाँडको ढुङ्गा र गिट्टी बेचेर चामल, नुन, तेल, चिनी लगायत अति आवश्यक बस्तुको जोहो गरिरहेका छन् ।  आम्दानीको स्रोत र काम पाएपछि सरकारी राहतमा मात्रै निर्भर पर्नुका साथै भोकभोकै बस्नुपर्ने अवस्था आएको छैन् । घरायसी र खेतबारीको कामबाट बचेको समयमा ढुङ्गा गिट्टी कुट्न जाने गरेको डिलकुमारी परियारले बताउनुभयो ।

“पन्ध्र दिनमा सात देखि दश हजार सम्मको ढुङ्गा, गिट्टी बचाउन सकिन्छ,”उहाले भन्नुभयो “त्यही बेचेर नुन, तेल, चामल, दाल, तरकारीको जोहो गरेकी छु ।” एक ट्याक्टर गिट्टीलाई सात हजार र ढुङ्गालाई तीन हजार पाँच सय रुपैयाँमा बिक्री गर्छन् । स्थानीय दमाहढुङ्गा सामुदायिक वन उपभोक्ता समूहलाई प्रतिट्याक्टर गिट्टीको २५० र ढुङ्गाको पाँच सय रुपैयाँ शूल्क बुझाउनुपर्छ ।

लकडाउनको अवधिका लागि ढुंगा र गिट्टि फुटाउन दिने निर्णय गरेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समबहादुर थापाले बताउनुभयो । “गाउँमा सञ्चालन हुने भवन, पुल, सडक सम्बन्धी विकास आयोजनाका लागि आवश्यक कच्चा पदार्थको आपुर्ति सहज भएको छ,” उहाले भन्नुभयो “विपन्नको जिविकोपार्जनमा समेत सहयोग पुगेको छ ।”

समूहका ७० मध्य ४० घरधुरी विपन्न समुदायको आयस्रोत ज्याला मजदुरी र वैदेशिक रोजगारि हो । ढुङ्गा, गिट्टी, काठ, घाँस र दाउरा बेचेर भएको आम्दानी हिलापोखरीको जगन्नाथ आधारभूत विद्यालयको निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराउदै आएको छ ।