मुस्ताङमा काँग्रेस तीन,एमाले एक र स्वतन्त्र एकमा बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 2254 पटक पढिएको

पाँच स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङमा मंगलबार मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार, पाँच गाउँपालिका मध्ये तीनमा काँग्रेस र अन्य दुई गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
थासाङ, बाह्रगाउँमुक्ति क्षेत्र र लोमान्थाङ गाउँपालिकामा काँग्रेस, घरपझोङमा एमाले र दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङसी गुरुङ) विजयी भएका हुन् । काँग्रेसका लोकप्रिय नेता मानिने विष्टले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्नु भएको हो । उहाँले ७५५ मत ल्याएर काँग्रेसकै तेञ्जिङ गुरुङलाई पराजित गर्नु भएको थियो ।

थासाङ गाउँपालिकामा काँग्रेसका बुद्धिप्रसाद शेरचनले ७२८ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछाने जानकारी दिनुभयो । शेरचनले एमालेका नविन भट्टचनलाई पराजित गराउनु भएको थियो । भट्टचनले ६२९ मत पाउनु भएको थियो ।

उपप्रमुखमा काँग्रेसकै बालकुमारी शेरचनले स्वतन्त्र उम्मेदवार कोनिसा विकलाई पराजित गर्नु भएको छ । १३८६ मत खसेको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा काँग्रेसका फेन्छोप छेतेन गुरुङले एमालेका रमेश गुरुङलाई पराजित गर्दै गाउँपालिका प्रमुखमा विजयी हुनु भएको छ । फेन्छोपले ६५४ मत पाउँदा रमेशले ६३८ मत ल्याउनु भएको थियो ।
उपप्रमुखमा एमालेकी धिकी गुरुले काँग्रेसका डोका गुरुङलाई पराजित गराउनुभयो । त्यस्तै, लोमान्थाङ गाउँपालिकामा पनि काँग्रेसकै सुर्वणकुमार विष्टले स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्दै गाउँपालिका प्रमुखमा चुनिनुभयो । सुर्वणले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । लोमान्थाङमा १७०० मतदाता रहेका थिए भने लोमान्थाङमा १२ सय ६३ मत खसेको थियो । उपप्रमुखमा नेपाली काँग्रेसकै कोशी पासाङ विजयी हुनु भएको छ । जिल्ला सदरमुकाम जोमसोम सहित समावेश रहेको घरपझोङ गाउँपालिकामा नेकपा एमालेका आश बहादुर थकालीले ४५४ मत ल्याएर काँग्रेसका विजय हिराचनलाई पराजित गर्नु भएको हो ।

हिराचनले ४१७ मत पाउनु भएको थियो । घरपझोङमा १५६८ मतदाता मध्ये १२५९ मत खसेकोे थियो । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङ ७०७ मत ल्याएर विजयी हुनु भएको निर्वाचन कार्यालयले जनाएको छ । २५ वडा रहेको पाँच गाउँपालिकामा १७ वडाअध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी हुँदा एमाले ७ र स्वतन्त्र १ वडाको वडाअध्यक्षमा विजयी भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।