अन्नपूर्ण अध्यक्ष कपमा राम्चेको बर्चस्व

  • २२ माघ २०७६, बुधबार
  • 2668 पटक पढिएको

 

म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम राम्चे राम्चे भएको छ । पुरुष बास्केटबल प्रतियोगितामा वडा न. ४ नारच्याङलाई ७६ का विरुद्ध ७९ स्कोर गर्दै राम्चे प्रथम भएको हो । राम्चेलाई जिताउन बिमल पुनले २७ स्कोर गरेका थिए । प्रौढ भलिबलमा वडा न. ७ हिस्तानलाई पराजित गर्दै राम्चे बिजयी भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम संयोजक ओम फगामीले बताए ।

पुरुष भलिबलमा वडा न. ३ दानालाई एक का विरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै वडा न. १ दोवा बिजयी भएको छ । वेष्ट अफ फाइभमा खेलाइएको थियो । दोवाले पहिलो सेटमा २० का विरुद्ध २५, दोस्रोमा १९ का विरुद्ध २५ र चौथोमा २५ का विरुद्ध २७ अंकले पराजित गरेको थियो । तेस्रो सेटमा दानाले दोवालाई २४ का विरुद्ध २६ सेटले पराजित गरेको थियो ।  महिला भलिबलमा वडा न. ४ नारच्याङ प्रथम र वडा न. ३ दाना दितृय भएका छन् । सामुहिक नृत्यमा वडा न. २ भुरुङ–तातोपानी प्रथम र वडा न. २ दोवा दितृय भएका छन् । एकल नृत्यमा शिखकी जिता तिलीजा प्रथम र नारच्याङकी सात्ना तिलिजा दोस्रो भएका छन् ।

अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक अध्यक्ष कप खेलकुद प्रतियोगिता गरिएको अध्यक्ष डमबहादुर पुनले बताए। प्रौढ भलिबलमा बिजेतालाई ३५ र उपबिजेतालाई २५ हजार रुपैयाँ पुरस्कारको साथमा ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।  पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार प्रदान गरिएको छ ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइएको छ । महोत्सवमा अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गरिएको थियो ।  कृषि मेला प्रर्दशनीमा सहभागी उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई तीन÷तीन हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा पुनहिल बाख्रा फार्मका पूर्ण पाइजा, फगामका नर्सरी कृषक जोगबहादुर विश्वकर्मा, दिलमाया पुन, राम्चेका किबी कृषक बिक्रम पुर्जा, चिज उत्पादक यामबहादुर पुर्जा, गाडपारका खेमबहादुर तिलीजा, दोवाका लालिगुराँस र नागीको बाराहीमाता महिला उद्यमी समूहलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी गत हप्ता खोप्राबाट नारच्याङ आउने क्रममा हराएका चार जना पदयात्रीको खोजी गरि भेट्टाउने दुई जना युवालाई गाउँपालिकाले पाँच÷पाँच हजार रुपैयाँ नगद सहित सम्मान गरेको छ । सम्मानीत तथा पुरस्कृत हुनेमा नारच्याङका रामकृष्ण थजाली र चुपीन पुर्जा रहेका छन् । संबिधानसभा सदस्य रेशमबहादुर बानिया, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष केशमाया मगर लगायतले बिजयी खेलाडी, कृषक, उद्यमी र सहयोगीहरुलाई सम्मान गरेका थिए ।