बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पदम पुन बिजयी, नगरपालिका प्रमुखमा एमालेको अग्रता कायमै

  • २ जेष्ठ २०७४, मंगलवार
  • 5926 पटक पढिएको

म्याग्दी, २ जेठ ।बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर बिजयी हनुुभएको छ । भर्खर सम्पन्न वडा नम्बर चारको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदावरहरुलाई पछि पार्दै बिजयी हनुुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४ सय २१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् । सदस्यहरुमा स्वतन्त्र प्यानलबाट रत्न जिसी र एमालेबाट गेमबहादुर घर्तिमगर ,मनकुमारी पुन र हरिकला दमाई निर्वार्चित भएका छन् ।
दुई हजार २६० जना मतदाता र तिन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो ।  त्यसैगरि बेनी नगरपालिकाको मेयरमा भने नेकपा एमालेको अग्रता कायमै छ । सुरुवात देखिनै अग्रता लिएका एमालेको तर्फबाट मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले तिन वडा वडाको मतगणना सकिँदा सम्म १ हजार ९ सय २६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले १ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले  १ हजार ५ सय ४६ मतले अग्रता लिनुभएको छ भने नेकपा (माओवादी केन्द्र) की ज्योती लामिछानेले  १ हजार १ सय ८ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र प्यानलको तर्फबाट चुनाब लडेको भकिम्लीका पदम पुन तत्कालिन माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाएपनि पछिल्लो सयम सक्रिय राजनितीलाई विश्राम दिँदै घरमै व्यवसायिक बाख्रापालनमा व्यस्त हुनुहुन्थ्यो। निर्वाचन कार्यालयबाट जाँतो चुनाब चिन्ह् लिएर चुनाब लडेका पुनले जनताले आफुलाई गरेको विश्वासलाई व्यबहादरमा उतारेर भकिम्ली र समग्र बेनी नगरपालिकाको विकास र समृद्धिमा सक्दो भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।


जयन्ती माविका ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुन २०५८ सालमा गाउँकै मुसुङडोले निमावीबाट सुरक्षाकर्मीले पक्राउ गरि दुईबर्ष जेल जिवन बिताएपछि २०६० सालमा शिक्षक पेशा छोडेर माओवादी जनयूद्धमा होमिनुभएको थियो । माओवादी जनयूद्ध हुँदै  माओवादीको राज्य समिति सचिवालय सदस्य सहित पार्टीका धेरै जिम्मेबारी समेत सम्हाल्नुभएका पुनले माओवादी बिभाजन पछि पार्टीमा निश्क्रिय हुनुभएको थियो ।

पुन अध्यक्ष रहेको जयन्ती माविमा अहिले करिव ३ करोडको लगानीमा स्वदेश तथा विदेशमा रहेका स्थानीयबासीबाट सहयोग जुटाएर विद्यालयको भवन निर्माण भइरहेको छ । पुन गाउँको सडक, खानेपानी लगाएतका विकास निर्माण योजनाहरुमा समेत अगुवाको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।