ताकममा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

  • २७ पुष २०७६, आईतवार
  • 2355 पटक पढिएको

 

ताकम, २७ पुष । म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकममा शनिबार देखि अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धवलागिरी गाउपालिकाको आयोजनामा भएको प्रतियोगितामा दश वटा विद्यालयका तीन सय जना भन्दा बढी खेलाडीहरु सहभागि भएका छन् । छात्र, छात्रा एथलेटिक्स र भलिबल बिधामा २८ वटा खेल खेलाइने भएको छ ।

प्रतियोगितामा प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, ट्रफि र प्रमाणपत्र सहित क्रमश ः नगद पचास हजार, तीस हजार र बीस हजार रुपैयाँ पुरस्कार पाउने गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए । विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश, राष्ट्रिय स्तरको खेलमा सहभागि हुने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यो वर्ष धवलागिरी गाउपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीद्धारा उद्घाटन भएको प्रतियोगिताको पन्ध्र सय मिटर दौडको छात्रछात्रा दुवै तर्फ ताकम मावि प्रथम हुदै बिजय सुरुवात गरेको छ । छात्रतर्फ ताकम माविका विकास भण्डारी प्रथम, धनजनता माविका वुद्धीमान विक दोस्रो र किसानी मावि धारापानीका मोहन हर्मेल तृतीय भएका छन् ।

छात्रातर्फ ताकम माविकी मनिषा केसी प्रथम, धनजनता माविकी तिर्सना पाण्डे दितृय र गुर्जाको जनकल्याण माविकी सिमा छन्त्याल तृतीय भएका छन् । गुर्जाका खेलाडीहरु हिलले छोपीएको बाटोमा करिब दश घण्टा पैदल हिडेर शनिबारै प्रतियोगितामा सहभागि हुन आएका थिए । पुष २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख केसीले खेलाडीको पहिचान र उनिहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता सहयोगी वन्ने विश्वास व्यक्त गरेका थिए । खेलकुदलाई मनोरञ्जन र समय व्यथित गर्ने माध्यमका रुपमा बुझन नहुने बताउदै केसीले खेल पूर्वाधार निर्माणमा जोड दिए ।

धवलागिरी गाउपालिकाका अध्यक्ष थमसरा पुनले राष्ट्रिय प्रतियोगितामा सहभागि हुने धवलागिरिका खेलाडीको पालिकाले जिवनबिमा गरिदिने घोषणा गरिन् । उनले पारिवारिक कारणले विद्यालय छाडेका र विद्यालय टाढा भएका कारण पढ्न नसकेका विद्यार्थीलाई लक्षित गर्दै शिवाङमा हेम नमुना आवासीय विद्यालय सञ्चालन गर्न लागिएको बताईन ।प्रतियोगितामा सहभागि हुने खेलाडी र शिक्षकहरुलाई गाउपालिकाको सहयोगमा ताकमको आमा समूह र युवा क्लवले निशूल्क खाना बस्नको व्यवस्था मिलाएका छन् । कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष जयराम सुवेदी, गाउपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, नेकपाका गाउपालिका अध्यक्ष खुमनाथ सुवेदी र नेपाली काग्रेसका प्रतिनिधि तेजिन्द्र थापाले बताए ।
गाउपालिकाका अध्यक्ष पुनको अध्यक्षता, शिक्षा शाखाका संयोजक गिरिप्रसाद छन्त्यालको सञ्चालन र सामाजिक विकास समितिका संयोजक राजाराम शर्माको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।