रघुगंगामा ६६ प्रतिशत मत खस्यो

  • ३१ बैशाख २०७४, आईतवार
  • 5409 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । आईतवार भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा ६६ दशमलब ७२ प्रतिशत मत खसेको छ ।

कुल ११ हजार ५६३ जना मतदाता रहेको यस गाउँपालिकामा ७ हजार ९ सय ५० जनाले मतदान गरेको गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुँईकेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भौगोलिक बिकटताको कारण केन्द्रमा मतपेटीका ल्याउन धेरै समय लाग्ने भएकाले मतगणनामा ढिलाई हुने देखिएको छ । यस गाउँपालिकामा राखु र बेग क्षेत्रको मतपेटीका सदरमुकाम बेनी ल्याएर तिन घण्टाको बस यात्रा मार्फत उल्टो पर्ने गरि लैजानुपर्ने बाध्यता रहेको छ ।

सबै मतदान केन्द्रका मतपेटीका आईसकेपछि मात्रै सर्वदलिय बैठक राखेर मतगणना सुरु गरिने अधिकृत कुँइकेलले जानकारी दिनुभयो । ८ वटा वडा रहेको यस गाउँपालिकामा एमाले माओवादी गठबन्धनबाट एमालेका खिमबहादुर शाही प्रमुख, माओवादी केन्द्रका हरि भण्डारी उपप्रमुख तथा काँग्रेसबाट भबबहादुर भण्डारी प्रमुख र कमला पाईजा उपप्रमुखका उम्मेदवार बनेका थिए ।