गलेश्वर ज्येष्ठ नागरिक आश्रममा सुविधायुक्त भवनका काेठा खालि, टहरामा वृद्धाको बास !

  • १० पुष २०७६, बिहीबार
  • 6288 पटक पढिएको

कमल खत्री /ठाकुर प्रसाद आचार्य
म्याग्दी १० पुस । ज्येष्ठ नागरिक आश्रममा के–के सुविधा पाईन्छ ? झट्ट सुन्दा लाग्छ आश्रममा आश्रित वृद्धवृद्धाले सबै सुविधा निःशुल्क पाउछन् । तर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको ज्येष्ठ नागरिक आश्रममा पुग्दा भने फरक दृष्य देखियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष मातहतमा २०६७ सालदेखि अनाथ, असहाय, अपांगता, बृद्धबृद्धा, साधुसन्त र एकल महिला, पुरुषलाई गास, बास र कपासको व्यवस्था गर्ने उदेश्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रम सञ्चालन गरिएको थियो । आश्रममा आश्रित व्यक्तिहरुलाई निशुल्क खाना र बसोबासको व्यवस्थापन गरिएको भनिएपनि व्यवहारत उनीहरुको बसाई निःशुल्क छैन् । आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुले ३ महिनाअघिसम्म मासिक रुपमा विद्युत शुल्क समेत तिर्दै आएको खुलेको छ ।

एनआरएनए युकेको आर्थिक सहयोगमा निर्मित भवन सहित अन्य पक्की भवनमा समेत बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरुमध्ये अधिकाँशले आफ्नै खर्चमा चुलो बाल्ने गरेका छन् । आश्रमको प्रतिवेदन र घोषणामा पूर्ण रुपमा निःशुल्क गास, बासको व्यवस्था गरिएको भनिएपनि व्यवहारमा भने आश्रमका ज्येष्ठ नागरिकहरुले आफ्नै खर्च जुटाएर आफै पकाएर दिन काट्दैै आएको पाईएको छ ।
उनीहरुले आफ्नो खाद्यान्न, ग्यास खरिद लगायतको खर्च व्यक्तिगत रुपमै जुटाउँदै आएका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुले राज्यबाट पाउने सामाजिक सुरक्षा भक्ता र आफन्तबाट पाउने सहयोगबाट गुजारा चलाउँदै आएका छन् ।गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले आश्रममा आश्रित व्यक्तिहरुको सहज खानपान र बसोबासमा हेल्चक्राई गरेको गुनासो बढेको छ । सुविधासम्पन्न भवनमा कोठा खाली हुँदा समेत कतिपय असहाय र वृद्धवृद्धाहरु छाप्रो र साँघुरो कोठामा कोचाकोच बस्नुपर्ने बाध्यता रहेको छ ।

खालि रहेको कोठा मिलाईदिन अनुरोध गर्दा आश्रमका नेतृत्वले रकम माग गर्ने गरेको गुनासो उनीहरुको छ । एक ज्येष्ठ नागरिकले नाम नछाप्ने सर्तमा भनिन् ‘ खालि कोठा मिलाइदिनुस भन्दा ७ लाख रकम मागे, हामी जस्तो असहाय र बृद्ध अबस्थामा त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’ (रकम मागेकाे गुनासाेकाे भिडियाे सुरक्षित छ) पक्कि भवनका कोठा खालि भएर ताला लगाईएको र छाप्रोमुनी कष्टकर तवरले वृद्धा बस्दै गरेको दृष्यले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ति असहाय वृद्धा महिला बस्दै आएको छाप्रोमा विद्युतको समेत सुविधा छैन् । चिसो मौसममा बोरा विछ्याएर उनले दैनिकी गुजारेकी छिन् ।

यस आश्रममा स्वेच्छाचारी ढंगबाट वृद्धवृद्धा र असहायलाई राख्ने गरेको समेत गुनासो आएको छ । आफुलाई मन गरे आश्रय दिने र मन नपरे आश्रमबाट निकालिदिने गरेको घटना समेत अहिले गलेश्वर क्षेत्रमा चर्चामा छ । आश्रममा कस्लाई राख्ने वा नराख्ने भन्ने सम्बन्धमा कार्यविधि नभएको र मनलाग्दी तवरले निर्णय हुने गरेको स्थानीयबासीको समेत गुनासो छ । आश्रमको अवलोकनमा पुगेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आश्रमको व्यवस्थापन फितलो देखिएकाले सम्बन्धित सरोकारवालासंग यस बारेमा ध्यानकर्षण गराउने बताए । आश्रित व्यक्तिहरुको कोठामा बोरा विच्छ्याईएको र ओढ्ने न्यानो कपडाको समेत अभाब देखिएको प्रजिअ ढकालले बताए । मंसीर २४ गते सम्पन्न गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको ९ औँ कार्यकारी सभामा ५५ जना वृद्धवृद्धा र असहायको निःशुल्क गास, बास र कपासको व्यवस्था गरिँदै आईएको जानकारी गराईएको थियो ।

तर पुस दोस्रो साता आश्रममा पुग्दा जम्मा करिब ३६ जना मात्रै आश्रित रहेको भेटिएको छ ।आर्थिक बर्ष २०७५/७६ मा आश्रमको व्यवस्थापनमा १४ लाख ७३ हजार ६४ रुपैयाँ खर्च भएको प्रतिवेदनमा देखिएपनि व्यवहारमा त्यो रकम कहाँ खर्च भयो ? प्रश्न उठेको छ । वृद्धवृद्धाले अभावको सामाना गरिरँदा आश्रम व्यवस्थापन समितिले भने विभिन्न सहयोगदाता र निकायबाट प्राप्त हुन आएको रकमलाई विभिन्न बैँक तथा सहकारीमा रु ४६ लाख भन्दा बढी रकम बचत गरेको पाइएको छ ।गत आ.व.मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रु १० लाख, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त रु ३ लाख बजेटलाई आश्रमको जिन्सी खरिद, सुसारे र भान्सेको पारिश्रमिक तथा आश्रम मर्मतमा खर्च गरिएको आश्रमको प्रतिवेदनमा उल्लेख छ । तर आश्रममा नत सुसारे नै छन नत भान्से नै । सुसारेको अभाबमा चिसो याममा लुगलुग काम्दै वृद्धवृद्धाले आफ्नो स्याहार सुसार र लत्ताकपडा धुने काम गर्दै आएका छन् । आश्रममा अधिकाँशले आफै पकाएर खाने गरेका छन भने केहि असहाय व्यक्ति र वृद्धवृद्धाले पुलत्स्य पुलह अन्नदान क्षेत्रले सञ्चालन गर्दै आएको भोजनालयबाट खाना खाने गरेको पाइएको छ ।

छुट्टै व्यवस्थापनमा २०६२ सालमा स्थापना भएको गलेश्वरधाम पुलत्स्य पुलह अन्नदान क्षेत्रले तिर्थयात्री, साधुसन्त, शालग्राम गण्डकी वेद विद्याश्रमका विद्यार्थी संगै वृद्धवृद्धालाई समेत दान, चन्दा र सहयोग जुटाएर भोजनको व्यवस्था गर्दै आएको छ । आश्रमका अध्यक्ष समेत रहेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले पारिवारिक समस्याको कारण आश्रम व्यवस्थापनमा समय दिन नसकेको बताउँदै कमिकमजोरीलाई सुधार गर्न आफु प्रतिबद्ध रहेको टेलिफोनमा प्रतिकृया दिए । उनले वृद्धवृद्धाको सहज व्यवस्थापन गर्नु नै समितिको पहिलो जिम्मेवारी भएको बताए । आश्रममा आश्रित व्यक्तिहरुबाट आफु समक्ष कुनै गुनासो नआएको बताउँदै अध्यक्ष केसीले वृद्धवृद्धाबाट विजुलिको शुल्क लिन छाडिएको जानकारी दिए ।