नेप्टेचौरमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, निर्वाचनको मुखमा ताण्डब

  • ३० बैशाख २०७४, शनिबार
  • 7135 पटक पढिएको

म्याग्दी, ३० बेनी । नगरपालीका ९ नेप्टेचौरमा शुक्रबार राती नेपाली काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । दुई पक्षका कार्यकर्ताहरुको बिवाद झडपमा परिणत हुँदा दुई वटा मोटरसाईकलमा आगजनी, एउटामा समान्य क्षत्ती, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ४५ प १६९७ र ध १ प २४७८ नम्बरको मोटरसाईकल आगजनीबाट ध्वस्त भएको र एउटा मोटर साईकलमा सामान्य क्षत्ती पुगेको छ । स्थानीय ईच्छा महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा समेत तोडफोड भएको छ । सहकारीको कागजात र खाताहरु हराएको अध्यक्ष शान्ति रोकाले बताउनुभयो ।

तोडफोड र आगजनी गर्ने पक्षलाई अर्को पक्षले देखाएको हतियार बरामद गरिएको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । प्रहरीका अनुसार सो भरुवा बन्दुक रवी कार्कीले व्यक्तिगत सुरक्षाका लागि प्रशासनबाट अनुमती लिएर राखेका थिए । निर्वाचनको समयमा हतियार प्रहरीलाई बुझाउन प्रशासनले सार्वजनीक सुचना मार्फत आग्रह गरेपनी १४ जनाले मात्र बुझाएका थिए । घटनापछी दुई पक्षको भागाभाग भएको र प्रहरीले हतियार नियन्त्रणमा लिएको प्रनाउ खड्काले बताउनुभयो ।

उहाँका अनुसार घटनामा संलग्नहरुको खोजी भैरहेको छ । नेपाली काँग्रेसको वडा अध्यक्षका उमेद्वार चक्र केसीले रातको समयमा बेनीबाट गएका एमालेका कार्यकर्ताले मोटरसाईकलमा आगजनी, स्थानीयबासीको घरमा तोडफोड र कोठामा सुतीरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेको बताउनुभयो । एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदीले काँग्रेसका कार्यकर्ताले फोन कुरा गरेर हिडीरहेका आफ्ना कार्यकर्तालाई आक्रमण गरेपछि कोठामा लुकेर बसेका काँग्रेसका कार्यकर्तालाई खोज्न जाँदा देखाएको बन्दुक खोसेर प्रहरीलाई बुझाएको बताउनुभयो । आगजनीको विषयमा आफूलाई जानकारी नभएको उहाँको पतिक्रिया थियो ।

घटनास्थल बेनपा ९ को कार्यालय नजिकैको घरमा बेनी पाखापानी सडक आयोजनाको ठेक्का लिएको हिमदुङ नाना ठोक्कर जेभीको कार्यालय थियो । काँग्रेस कार्यकर्ता कार्कीले कम्पनीको कार्यालयको रुपमा प्रयोग गर्दै आएको सो घरमा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार चक्र केसीको सम्र्पक कार्यालय पनी थियो । क्षत्तीको विवरण संकलन र अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा परिचालन गरेको प्रनाउ खड्काले बताउनुभयो । घटनामा संलग्नहरुको खोजी तिब्र पारीएको उहाँको भनाई छ ।