म्याग्दीमा मतदान केन्द्रको तयारी तिब्र

  • २९ बैशाख २०७४, शुक्रबार
  • 2813 पटक पढिएको

बेनी २९ बैशाख । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका मतदान केन्द्रहरुमा तयारी तिब्र पारिएको छ । हरेक मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले राजनीतक दलका स्थानीय नेताहरुसंगको सर्वदलीय बैठक गरी मतदाता परिचयपत्र वितरण गर्ने कामसंगै मतदान स्थल निर्माणको कामलाई तिब्रता दिएका छन् ।

शनिबारसम्ममा मतदाता परिचयपत्र बाडिसक्ने लक्ष्य अनुसार मतदान अधिकृतहरुले स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिसंग समन्वय गरिरहेका छन् । मत बदर हुन नदिन मतदान स्थलमै मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन भैरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच म्याग्दीमा दुई वटा अपाङ्ग मैत्री मतदान केन्द्रको व्यवस्था गरिएको छ । बेनी सामुदायीक मावि र धौलागिरी मावि सिङ्गामा अपाङ्ग मैत्री मतदान केन्द्र बनाइएको हो । अशक्त तथा अपाङ्गता भएका मतदाताको सहजताका लागि अपाङ्गमैत्री मतदान केन्द्रको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

बेनपा ४ को धौलागिरी माविमा दुई हजार ७९ जना र बेनपा ७ को बेनी सामुदायीक माविमा एक हजार ४५७ जना मतदाता छन् ।  जेष्ठ नागरीक, सुत्केरी, बिरामी, अशक्त र अपाङ्गता भएका मतदातालाई लाईनमा नबसीकन मतदानमा सहभागि हुने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र सुरक्षा अधिकारीहरुको टोली जिल्लाका विभिन्न ठाउँमा रहेका मतदान केन्द्रहरुको स्थलगत अनुगमनमा खटिनुभएको छ । मतदानको तयारीको बारेमा जानकारी लिने, बस्तु अवस्था बुझ्ने र आवश्यक सुझाव प्रदान गर्न जिल्ला स्तरीय टोली अनुगमनमा खटिएको हो ।

मतदाताहरु निर्वाचनमा मतदान गर्ने समय नजिकिएसंगै उत्साही देखिएका छन् । स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते मतदान हुदैछ् । मौन अवधि सुरु भएपछि राजनितिक दल र उमेद्वारहरुले खुल्ला प्रचार रोकेर आन्तरीक तयारी, प्रचार अभियानको समिक्षा र व्यक्तिगत भेटघाटमा जुटेका छन् ।