१८ औँ जेसीजकप फुटवलमा बुद्ध एकेडेमी र वेष्ट प्वाइन्ट फाइनल प्रवेश (फोटो फिचर)

  • १३ मंसिर २०७६, शुक्रबार
  • 2863 पटक पढिएको

म्याग्दी १३ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा साविक बिजेता न्यू वेष्ट प्वाइन्ट आवसीय मावि र बुद्ध एकेडेमी फाईनलमा प्रवेश गरेका छन् । शुक्रवार बेनी स्थित खुलामञ्चमा भएको सेमिफाईनल खेलमा बेनी बोडिङ स्कुललाई शुन्यका विरुद्ध ५ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट फाईनल प्रवेश गरेका हुन् ।

शनिवार हुने फाईनलमा उपाधी हात पार्ने यात्रा तय गरेको वेष्ट प्वाईन्ट प्रतियोगिताको गत बर्षको बिजेता समेत हो भने बुद्ध एकेडेमी पहिलो पटक फाइनल पुग्न सफल भएको हो । म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल, प्रमाण–पत्रसहित नगद रु ५१ हजार पुरस्कार प्रदान गरिनेछ ।


त्यसैगरि उपविजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित रु ३१ हजार, अनुशासित टिमलाई नगद र ७ हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई समेत नगद रु २ हजार पाँच सय सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक हरि भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर/रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापाले बताए । म्याग्दीमा हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवल विद्यालय स्तरमा हुने लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको छ । यस प्रतियोगितालाई म्याग्दी जेसिजले आर्थिक संकलन गरि निरन्तरता दिँदै आएको छ ।