एमाले र राप्रपाको भकिम्लीमा कार्यक्रम

  • २७ बैशाख २०७४, बुधबार
  • 1641 पटक पढिएको

म्याग्दी, २७ वेशाख । नेकपा एमाले म्याग्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार बेनी नगरपालिका–३ भकिम्लीमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । कार्यक्रममा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रशस्तै सम्भावना रहेको बताउँदै त्यसका लागि आफूलाई मतदान गरेर जिताउनुपर्ने बताएका छन् ।

उनले नगरपालिका क्षेत्रलाई आफूले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका पूर्वाधारहरुको विकास गरी समग्र नगर क्षेत्रलाई सक्षम र सबल बनाउने योजना रहेको बताए । सोही कार्यक्रममा राप्रपाबाट उपमेयरका उम्मेदवार सञ्जु थापा बरुवालले बेनी नगरपालिकालाई देशकै नमुना बनाउने आफ्नो योजना रहेको भन्दै नगरका सबै वडामा पक्की सडक निर्माण, सर्वसुलभ शिक्षाको पहुँच, कृषिको आधुनिकीकरण लगायतको विकास गर्न सकिने बताइन् ।


यसैगरी भकिम्लीको मरेक र सोलडाँडामा घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रम गरिएको बताइएको छ । एमाले भकिम्लीका वडाध्यक्षका उम्मेदवार दिलबहादुर थापाको अध्यक्षता, सचिवालय सदस्य सन्तोष रावलको स्वागत र जिल्ला सदस्य किरण सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनसांस्कृतिक महाससंघका कलाकारहरुले जनवादी नृत्यु एवं गीतसङ्गीत प्रस्तुत गरेका थिए ।