बरंजामा काँग्रेस र माओवादीको संयुक्त चुनावी सभा

  • २७ बैशाख २०७४, बुधबार
  • 3447 पटक पढिएको

म्याग्दी, २७ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादीको आयोजनामा बुधबार बरंजामा संयुक्त चुनाव प्रचार सभा सम्पन्न भएको छ ।
सभामा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सुरेश आलेमगरले जनयुद्धले जन्माएको संघीय व्यवस्था मार्फत सिंहदरबारको अधिकार गाउँ नगरमा आउन लागेको र त्यसको कार्यान्वयन र व्यवस्थापनका लागि माओवादी केन्द्रलाई जिताउनुपर्ने बताउनुभयो ।

स्थानीय तह विगतको गाविस, जिविसको जस्तो नभएर कार्यपालीका, ब्यवस्थापीका र न्यायपालीकाको काम गर्ने अधिकार भएकाले योग्य र सक्षम नेतृत्व चुन्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले विकास र परिवर्तनका लागि माओवादीसंग काँग्रेसले सहकार्य गरेको बताउँदै स्थानीय तह निर्वाचनमा भएको तालमेल पूर्ण रुपमा प्रतिवद्ध भएर कार्यान्वयन गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

गाउँपालीकाको अध्यक्षका उमेद्वार माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकी र उपाध्यक्षका उमेद्वार काँग्रेसकी हुमादेवी फगामीले मंगला गाउँपालीका बासीको अनुकुल निती निर्माण, विकास र सम्बृद्धीको लागी आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । वडा न. ३ का काँग्रेसका वडा अध्यक्षका उमेद्वार योगेन्द्रबहादुर खड्का, माओवादी केन्द्रका ३ नम्बर वडा अध्यक्षका उमेद्वार यामबहादुर रोका, ४ नम्बर वडा अध्यक्षका उमेद्वार ओमबहादुर रोका (रवी)ले बरंजाबासीको सुख, दुख, विकास र समृद्धीका लागि संघर्ष गर्दै आएकाले स्थानीय तह निर्वाचनमा मतदान गरेर जिताउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका वडा सभापती कृष्णबहादुर केसीको अध्यक्षता र नेकपा माओवादी केन्द्रका नेता देवराज सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामना परिवारका कलाकार कमला घर्तीमगर र भावना बुढामगरले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । यसैगरी नेकपा माओवादी केन्द्रले बुधबार मालीका गाउँपालीका ५ देविस्थानमा चुनाव प्रचारप्रसारका लागि आमसभा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला संयोजक गोविन्द पौडेल र अनेरास्ववीयु क्रान्तिकारीका नेता अर्जुन थापाले संघियता ल्याउन जनयुद्ध लड्ने र जिल्लाको विकासमा ठूलो मात्रामा बजेट भित्र्याउन योगदान गर्ने माओवादी पार्टीलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मालीका गाउँपालीकाको अध्यक्षका उमेद्वार कमल केसी, उपाध्यक्षका उमेद्वार गौरी सेञ्चुरी, वाईसीएलका नेता दोरण शेरचन र सवीन रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । यसैगरी धौलागिरी गाउँपालीकाको ताकम, शिवाङ, हिलापोखरी, काफलडाँडा, मच्छिममा माओवादी केन्द्रका अध्यक्षका उमेद्वार रिमप्रकाश थापा र काँग्रेसका उपाध्यक्षका उमेद्वार डम्मर भण्डारीले घरदैलो गर्नुभएको छ । बेनपा २ को बगरफाँट, खाल्दुला, बालधारा क्षेत्रमा नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार कृष्णबहादुर कार्की र सदस्यहरुको टोलीले बुधबार घरदैलो गरेको छ ।